एनआरएनए टर्कीको नेतृत्वमा डा. बिनोद पौडेल, नयाँ कार्यसमिति सर्वसम्मत

टर्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । नोभेम्बर १ मा सम्पन्न संघको वार्षिक अधिवेशनले डा. बिनोद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

इस्तानबुलस्थित हिमालय रेस्टुरेन्टमा आयोजित अधिवेशन पूर्वअध्यक्ष उज्ज्वल कुमार घिसिङको प्रमुख आतिथ्य तथा डा. पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा टर्कीका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको प्रत्यक्ष तथा अनलाइन सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन श्याम पाण्डेले गरेका थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्यामकला राई, उपाध्यक्षमा मन्दिर खत्री र डोरबहादुर खड्का चयन भएका छन् । त्यस्तै सचिवमा श्याम पाण्डे, सहसचिवमा अनिश गिरी, कोषाध्यक्षमा भीमकान्त अर्याल र सहकोषाध्यक्षमा सुनील चौधरी चयन भएका छन् ।

कार्यसमिति सदस्यमा श्याम सापकोटा र अनिता राई चयन भएका छन् । त्यसैगरी लेखा समितिमा रमेश तिमल्सिना, होमकुमार पाण्डे, राममाया पौडेल, विश्वास लिम्बू, हमिदुल हुसेन र धनकाजी मोक्तान चयन भएका छन् । अजय क्षेत्रीलाई मिडिया संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

अधिवेशनमा टर्कीमा रहेका नेपाली समुदायका विभिन्न समस्या तथा संघको भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो । विशेषगरी नेपाली श्रमिकका वर्क परमिट तथा श्रमसम्बन्धी समस्या, विद्यार्थीले भोग्नुपरेका कठिनाइ र उनीहरूलाई आवश्यक सहयोगका विषयले प्राथमिकता पाएका थिए ।

त्यस्तै, अवैध बाटो हुँदै ग्रीस तथा अन्य मुलुक जाने क्रममा नेपालीले सामना गर्नुपर्ने जोखिम, मानव तस्करीविरुद्ध जनचेतना अभिवृद्धि, नेपाली समुदायको हकहित संरक्षण र नेपाली दूतावाससँगको समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

संस्थाको नियमित बैठक तथा व्यवस्थापन, मासिक लेबी संकलन र आर्थिक पारदर्शिता कायम गर्ने विषयलाई समेत आगामी कार्ययोजनामा समेटिएको छ ।

नवनिर्वाचित अध्यक्ष डा. पौडेलले टर्कीमा बसोबास गर्ने नेपालीहरूको सुखदुःखमा साथ दिने संस्थाका रूपमा एनआरएनएलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले आपसी भाइचारा, एकता र सहकार्यलाई प्राथमिकता दिँदै समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग उपलब्ध गराउन आफ्नो नेतृत्वले पहल गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष उज्ज्वल कुमार घिसिङले संस्थाको स्थापना र विकासका क्रममा आफूले प्राप्त गरेका अनुभव साझा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

अधिवेशन सफल बनाउन सहयोग पुर्‍याउने इस्तानबुलस्थित हिमालय रेस्टुरेन्टका सञ्चालक राजन योञ्जन, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रत्यक्ष र अनलाइन माध्यमबाट सहभागी सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।