काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका–३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।
पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
प्रहरीका अनुसार पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका–१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका ८ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




































