‘कुलिङ पिरियड’ प्रकरणबारे संसदीय छानबिन समितिकाे संयाेजकमा जीवन परियार

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएकाे जानकारी गराएका छन् ।

साेमबारकाे कार्यव्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसकाे जानकारी गराएका हुन् । उनका अनुसार नेपाली कांग्रेसका सांसद जीवन परियारकाे संयाेजकत्वकाे साे समिति गठन गरिएकाे हाे ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएकाे हाे । साे समितिले २१ दिनकाे समय सिमा पाएकाे छ ।

सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली कांग्रेसबाट जीवन परियार र सुशिला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपाबाट रोशन कार्की तथा माओवादीबाट माधव सापकाेटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् ।

संघीय निजामती सेवा विधेयकमा सहमति विपरीत ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिवेदन पेस गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरामाथि छानबिन गर्न मागपछि सो समिति गठन गरिएको हो ।