पार्टीको मुद्दा बोकेर घरदैलोमा पुग्न अध्यक्ष यादवको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखहरुको संयुक्त बैठकमा अध्यक्ष यादवले केन्द्रीय विभाग र जनवर्गीय सङ्गठनका प्रमुखहरुलाई पार्टीको मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रस्ट पार्न निर्देशन दिए ।

अध्यक्ष यादवले विद्यमान राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने खाँचो औँल्याए । उनले भने, “जसपा नेपालले बलियो ढङ्गले उठाउँदै आएका मुद्दा प्रस्ट रुपले अझै जनताबीच पुग्न सकेको छैन । ती मुद्दा जनतामा पुर्याउने र उहाँहरुलाई बुझाउने काम तपाईंहरुको हो ।”

सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्न नेता–कार्यकतालाई आग्रह गरे । उनले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्ने अध्यक्ष यादवको जोड थियो ।

‎बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकासका पहल, जनसम्पर्क विस्तार तथा जनवर्गीय सङ्गठनहरूको भूमिकालाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको जसपाले विज्ञप्तिमार्फत जनाएको छ ।