मुस्ताङ । सन् २०२६ को दश महिनामा २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।
जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ २ लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा १ लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङख्या वृद्धि भएको हो ।
एक्याप कार्यालयका प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को २ महिना बाँकी रहँदा १ लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङख्या वृद्धि भएको जानकारी दिए । एक्याप जोमसोमको पर्यटक तथ्यांकअनुसार सन् २०२६ को दश महिना अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङख्या वृद्धि भएको छ । गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको २ महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ १ लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको हो ।
यसैगरी सन् २०२५ को बाह्र महिनामा २३ हजार ६०४ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिदा सन् २०२६ को २ महिना बाँकी रहँदा ४ हजार ६७१ जना विदेशी विदेशी पर्यटक कम भित्रिएका हुन् । जुन अघिल्लो वर्षको भन्दा ९१६.५० प्रतिशत कम पर्यटक भित्रिएका हुन् । एक्याप प्रमुख गुप्ताले नोभेम्बर र डिसेम्बर २ महिना बाँकी रहेकाले गत वर्षको भन्दा चालु वर्षमा विदेशी पर्यटक सङख्या कम नहुने उल्लेख गरे ।
यस वर्ष रसुवागढीको विनासकारी बाढी घटना तथा जोमसोम–कोरला सडक अवरुद्ध, हवाई सेवा स्थगनलगायत मौसम प्रतिकूलका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको थियो । यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । एक्याप जोमसोमका अनुसार सार्क राष्ट्रतर्फ करिब शतप्रतिशत पर्यटक वृद्धि हुनुमा अधिकांश भारतीय पर्यटकको आगमन रहेको उल्लेख गरेको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि भारतीय पर्यटकको सङख्या वृद्धि हुँदै गइरहेको एक्यापको भनाइ छ । यसैगरी अन्य राष्ट्रतर्फ मुस्ताङ भित्रिनेमा राउण्ड अन्नपूर्ण चर्किय पदमार्गको मनाङबाट थोरङ्ला पास हुँदै मुस्ताङ भित्रिनेको सङख्या रहेको एक्यापले जनाएको छ ।





































