काठमाडौं । अस्ट्रेलियन निन्जा ए–लिग फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले पुनः उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव जमाएकी छन् । वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बाले वेस्टर्न सिड्नी वान्डरर्स एफसीविरुद्धको खेलमा एक गोल गर्नुका साथै दुई गोलमा असिस्ट गर्दै टोलीलाई ३–० को शानदार जित दिलाइन् ।
मंगलबार वान्डरर्स फुटबल पार्कमा सम्पन्न खेलमा साम्बाको उपस्थितिले दर्शकदीर्घा भरिभराउ देखिन्थ्यो। सिड्नीस्थित नेपाली समुदाय आफ्नी स्टार खेलाडीलाई प्रत्यक्ष खेल्दै हेर्न ठूलो संख्यामा मैदानमा उपस्थित थियो । घरेलु टोली वान्डरर्स भए पनि दर्शकहरूमा वेलिङ्टन फिनिक्सका समर्थकको उत्साह स्पष्ट देखिन्थ्यो ।
खेलको सातौँ मिनेटमै वेलिङ्टनले अग्रता लियो। वान्डरर्सले आफ्नै हाफमा बल गुमाएपछि साम्बाको प्रहार एमा मेनले दिशा परिवर्तन गर्दै गोलमा परिणत गरिन्। उक्त गोलमा साम्बाले महत्वपूर्ण असिस्ट प्रदान गरिन् । खेलभर निरन्तर दबाब सिर्जना गरिरहेकी साम्बाले दोस्रो हाफको ४८औँ मिनेटमा आफैं गोल गर्न सफल भइन् । पेनाल्टी क्षेत्रभित्र आएको लुज बलमा छिटो प्रतिक्रिया दिँदै उनले बललाई गोलकिपर शाम खामिसको पहुँचबाहिर प्रहार गरिन् र वेलिङ्टनको अग्रता २–० पुर्याइन् ।
त्यसको चार मिनेटपछि नै साम्बाले अर्को उत्कृष्ट चाल प्रस्तुत गरिन् । हाफवे लाइनबाट विपक्षी मिडफिल्डर यिङ वाङलाई छल्दै अघि बढेकी साम्बाले सही समयमा बल एमा मेनलाई पास गरिन्, जसलाई मेनले सजिलै गोलमा परिणत गर्दै खेलको अन्तिम नतिजा ३–० बनाइन् ।
यसअघि पहिलो हाफमा साम्बाले गरेको एक गोल अफसाइडका कारण मान्य भएन। तर त्यसले उनको खेलप्रतिको धार कम हुन दिएन । उनले खेलभर आक्रामक खेल प्रस्तुत गर्दै दर्शकको भरपूर मनोरञ्जन गराइन् ।
वान्डरर्सका लागि यो खेल निराशाजनक रह्यो। टोलीले खेलको ८५औँ मिनेटमा मात्र पहिलो सट अन टार्गेट दर्ता गर्यो, जुन कप्तान एमी ह्यारिसनको फ्रिकिक थियो । तर त्यो प्रहार वेलिङ्टनकी गोलकिपर भिक्टोरिया एसनले सहजै नियन्त्रण गरिन् । यस हारसँगै वेस्टर्न सिड्नी वान्डरर्स आठ खेलपछि निन्जा ए–लिगको अंकतालिकाको पुछारमा पुगेको छ । उता, वेलिङ्टन फिनिक्सले सिजनको पहिलो अवे जित दर्ता गर्दै लगातार दुई जित हासिल गरेको छ । यस जितसँगै फिनिक्स अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ ।
लिगमा साम्बाले हालसम्म ३ गोल गरिसकेकी छन् र उनको फर्म वेलिङ्टन फिनिक्सका लागि निकै महत्वपूर्ण सावित हुँदै गएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































