भानु–१ नयाँबस्तीमा सारङ्गीको परम्परा जोगाउँदै कालिगड

तनहुँ । तनहुँको भानु नगरपालिका-१ स्थित नयाँबस्तीका स्थानीय कालिगड परम्परागत लोकबाजा सारङ्गी बनाउँदै आएका छन् । कालिगडका अनुसार सानोदेखि ठूलो आकर्षक डिजाइनका सारङ्गी पाँच हजार देखी १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेकाे छ ।

नयाँबस्तीका स्थानीय कालिगड परम्परागत लोकबाजा सारङ्गी निर्माणमा सक्रिय छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीपलाई निरन्तरता दिँदै कालिगडले आधुनिक समयसँगै परम्परागत बाजाको संरक्षण र प्रवर्द्धन गरिरहेका छन् ।

नयाँबस्तीमा बिहानैदेखि काठ कुँद्ने, छाला टाँस्ने र तार मिलाउने काम चलिरहन्छ । सारङ्गी बनाउन उपयुक्त काठ छनोट गर्नु सबैभन्दा महत्वपूर्ण चरण मानिन्छ । त्यसपछि काठलाई आवश्यक आकारमा काटेर भित्रि भाग सावधानीपूर्वक खोक्रो पारिन्छ । छाला टाँस्ने, तार जडान गर्ने र धुन मिलाउने प्रक्रिया पूरा भएपछि मात्र सारङ्गी तयार हुन्छ । एक वटा गुणस्तरीय सारङ्गी बनाउन केही दिनदेखि एक हप्तासम्म समय लाग्ने कालिगड बताउँछन् ।

कालिगडका अनुसार सानो आकारका सारङ्गी सिक्न चाहने बालबालिका र सुरुआती अभ्यासकर्ताका लागि उपयुक्त हुन्छन् भने ठूला तथा आकर्षक डिजाइनका सारङ्गी सांस्कृतिक कार्यक्रम, लोकदोहोरी मञ्च तथा सजावटका लागि प्रयोग गरिन्छन् । तयार भएका सारङ्गी डिजाइन, आकार र ध्वनिको गुणस्तरअनुसार पाँच हजारदेखि १० हजारसम्ममा बिक्री हुने गरेका छन्।

स्थानीय बजारसँगै पोखरा, काठमाडौँलगायतका शहरमा पनि अर्डर जाने गरेको उनीहरूको भनाइ छ । विशेषगरी सांस्कृतिक महोत्सव, विद्यालयस्तरीय कार्यक्रम र पर्यटकीय क्षेत्रमा सारङ्गीको माग बढ्दै गएको छ ।

सारङ्गी नेपाली लोकसंस्कृतिको महत्वपूर्ण पहिचान बोकेको बाजा हो । गन्धर्व समुदायसँग नजिकको सम्बन्ध रहेको यो बाजा पछिल्लो समय विभिन्न सांगीतिक प्रयोग र आधुनिक प्रस्तुतीकरणमा समेत समेटिँदै गएको छ । आधुनिक बाजाको प्रयोग बढ्दै गए पनि नयाँबस्तीका कालिगड भने परम्परागत धरोहर जोगाउन प्रतिबद्ध देखिन्छन् ।

उनीहरूका अनुसार सीप हस्तान्तरण र बजार व्यवस्थापनमा स्थानीय तहको सहयोग आवश्यक छ । नयाँ पुस्तालाई तालिम र प्रोत्साहन उपलब्ध गराउन सके सारङ्गी निर्माण परम्परा अझ सशक्त बन्ने विश्वास गरिएको छ ।

नयाँबस्तीमा निर्माण हुने सारङ्गी केवल बाजा मात्र नभई स्थानीय संस्कृति, पहिचान र मेहनतको प्रतीक बनेको छ । पाँचदेखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने यी सारङ्गीले परम्परा जोगाउँदै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्‍याइरहेका छन् ।