क्रान्तिको रापबाट संसदीय पतनसम्म : नेकपाको ओरालो यात्रा

काठमाडौं । नेपालको संसदीय राजनीतिमा तत्कालीन नेकपा माओवादीको उदय सशस्त्र द्वन्द्वबाट भयो ।

शान्तिप्रक्रियामा आएपछि पहिलोपटक संविधानसभा निर्वाचनमा सहभागी हुँदा माओवादी पहिलो दल बन्यो, तर अहिले हेर्दा नेपाली कम्युनिष्ट पार्टी बनेको माओवादीको संसदीय यात्रा निरन्तर ओरालो लागेको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा १२० सिटसहित पहिलो शक्तिका रूपमा उदाउँदा माओवादीले मुलुकमा नयाँ युगको सूत्रपात गर्ने विश्वास गरिएको थियो । तर सशस्त्र विद्रोहको रापतापबाट आएको शक्तिले शान्तिपूर्ण राजनीतिको २ दशक पार नगर्दै आफ्नो जनाधार गुमाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १७४ क्षेत्रमध्ये केवल ७ सिटमा खुम्चिनुले माओवादी आन्दोलनको संसदीय सान्दर्भिकता र यसको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

माओवादी ओरालो लाग्नुको कारणमा आन्तरिक विभाजन र वैचारिक विचलनलाई पनि लिइन्छ । पार्टीका वैचारिक मेरुदण्ड मानिने मोहन वैद्य ‘किरण’, रणनीतिकार डा. बाबुराम भट्टराई, जुझारु कमान्डर नेत्रविक्रम चन्द ‘विप्लव’ र संगठनका खम्बा रामबहादुर थापा ‘बादल’ जस्ता प्रभावशाली नेताहरूले विभिन्न कालखण्डमा साथ छोड्दै जानु र माओवादीको जनाधार कमजोर हुँदै जानु संयोग मात्रै होइन । यसरी नेताहरू मात्र छुट्टिएनन्, उनीहरूसँगै माओवादीको एउटा ठूलो र प्रशिक्षित कार्यकर्ताको पंक्ति पनि क्षतविक्षत भयो । राजनीतिक साख जोगाउन पार्टीले नाम फेर्ने र विभिन्न समूहसँग एकता गर्ने प्रयास त गर्‍यो, तर ती एकताहरू सिद्धान्तभन्दा पनि सत्ता टिकाउने गणितमा मात्र केन्द्रित हुँदा जनमत प्राप्त हुन सकेन ।

पछिल्लोपटक नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग एकीकरण गरी ‘नेपाली कम्युनिष्ट पार्टी (नेकपा)’ बनाएर निर्वाचनमा होमिए पनि जनताले त्यसलाई नयाँपनका रूपमा स्वीकार नगरेको चुनावी नतिजाले पुष्टि गरेको छ । यसपटकको निर्वाचनको भौगोलिक परिणाम हेर्दा नेकर्पालाई झनै कमजोर र क्षेत्रीय समूहमा सीमित गरिदिएको छ । मुलुकका ७ प्रदेशमध्ये कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम जस्ता महत्वपूर्ण भूभागमा नेकपा पूर्णतः शुन्य भएको छ । बागमती प्रदेशबाट जम्मा १ सिट र लुम्बिनीबाट २ सिटमा चित्त बुझाउनुपर्ने अवस्थाले शहरी र सुगम क्षेत्रमा पार्टीप्रति चरम वितृष्णा रहेको संकेत गर्छ ।

कर्णाली प्रदेशका ४ सिटले मात्रै यसको अलिकति अस्तित्व जोगाइदिएको छ, जुन तत्कालीन माओवादीको पुरानो आधार इलाका हो । १७४ क्षेत्रमा उम्मेदवारी दिँदा ७ स्थानमा मात्र विजयी हुनुले माओवादी अब राष्ट्रिय मियोबाट खुम्चिएर एउटा सानो राजनीतिक झुण्डमा परिणत हुन लागेको त होइन भन्ने आशंका उत्पन्न भएको छ ।

पछिल्लो चुनावी परिणामका पछाडि माओवादीको अवसरवादी र ढुलमुले प्रवृत्ति तथा नयाँ पुस्तासँगको सम्बन्धविच्छेद हुनु रहेको पाइन्छ । दशकौँदेखि एउटै नेतृत्व सत्ताको वरिपरि घुमिरहनु, कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गरेर आफ्नो मौलिक पहिचान गुमाउनु र जनताका आधारभूत समस्याभन्दा सत्ताको खेललाई प्राथमिकता दिनु नै नेकपाको अधोगतिको मुख्य कारण हो । अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता नयाँ शक्तिहरूको उदयले माओवादीले खाँदै आएको परिवर्तनको ब्याजलाई पूर्णतः ओझेलमा पारेको छ ।

चुनावी परिणामले माओवादी आन्दोलनको अवसानको चेतावनी दिएको छ । १७४ क्षेत्रमध्ये ७ सिटमा सीमित भएको अंकगणित हेर्दा विगतको क्रान्तिको राप बेचेर वा साना दलहरूसँगको एकताको बनावटी फन्डाले राजनीति अगाडि बढ्न सक्दैन भन्ने पुष्टि गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।