स्वास्थ्य सल्लाहका लागि एआईमाथि विश्वास गर्न सकिन्छ ?

विगत १ वर्षदेखि एबीले आफ्नो स्वास्थ्य व्यवस्थापनमा सहयोग लिनका लागि सबैभन्दा परिचित एआई च्याटबोटमध्येको ‘च्याटजीपीटी’ प्रयोग गरिरहेकी छन्।

यसको आकर्षण स्पष्ट छ, किनकि एउटा चिकित्सकसँग सम्पर्क गर्न असम्भव जस्तै महसूस हुन सक्छ र कृत्रिम बुद्धिमत्ता (एआई) तपाईंका जिज्ञासाहरूको जवाफ दिन सधैं तयार रहन्छ । एआईले केही मेडिकल परीक्षाहरू पनि सहजै उत्तीर्ण गरेको छ । यस्तो अवस्थामा के हामीले च्याटजीपीटी, जेमिनाई र ग्रोक जस्ता च्याटबोटहरूलाई विश्वास गर्नुपर्छ ? के यिनको प्रयोग पुरानो शैलीको इन्टरनेट सर्चभन्दा फरक छ ? अथवा केही विज्ञहरूले डर मानेझैँ च्याटबोटहरूले कुराहरूलाई खतरनाक रूपमा गलत प्रस्तुत गरेर जीवनलाई नै जोखिममा पारिरहेका छन् ?

म्यानचेस्टरकी एबी स्वास्थ्य सम्बन्धी चिन्ताबाट ग्रसित छिन् । उनले इन्टरनेट सर्चभन्दा च्याटबोटले बढी व्यक्तिगत सल्लाह दिने महसूस गर्छिन्, किनभने इन्टरनेट सर्चले प्रायः उनलाई सिधै डरलाग्दो सम्भावनाहरूतर्फ लैजान्छ । उनी भन्छिन्, ‘यसले सँगै मिलेर समस्या समाधान गर्ने मौका दिन्छ, जुन ठ्याक्कै डाक्टरसँग कुराकानी गरे जस्तै हुन्छ ।’ एबीले स्वास्थ्य सल्लाहका लागि एआई च्याटबोट प्रयोग गर्दाका राम्रा र नराम्रा दुवै पक्ष देखेकी छन् । जब उनलाई आफूलाई पिसाब नलीको संक्रमण (यूटीआई) भएको आशंका लाग्यो, च्याटजीपीटीले उनका लक्षणहरू हेरेर फर्मासिस्टकहाँ जान सल्लाह दियो । परामर्शपछि उनलाई एन्टिबायोटिक सिफारिस गरियो ।

एबी भन्छिन्, ‘च्याटबोटले उनलाई एनएचएसको समय बर्बाद गरिरहेको महसूस नगराई आवश्यक उपचारसम्म पुर्‍यायो र डाक्टरकहाँ कहिले जाने भन्ने अलमल हुने व्यक्तिका लागि सल्लाहको सजिलो स्रोत बन्यो ।’

जनवरीमा पदयात्राका क्रममा एबी चिप्लिएर नराम्ररी लडिन् । उनको ढाड ढुङ्गामा ठोकियो र ढाडमा निकै धेरै दबाब महसूस भयो, जुन पेटसम्म फैलिरहेको थियो । त्यसैले उनले खल्तीमा रहेको एआईसँग सल्लाह मागिन् । एबी भन्छिन्, ‘च्याटजीपीटीले मेरो शरीरको भित्री अङ्ग प्वाल परेको र तत्काल आकस्मिक कक्षमा जानुपर्ने बतायो ।’ आकस्मिक विभागमा ३ घण्टा बसेपछि दुखाइ कम हुँदै गयो र आफू गम्भीर रूपमा बिरामी नभएको महसूस गर्दै उनी घर फर्किन्।

एआईले स्पष्ट रूपमा गलत बताएको थियो । एबी जस्ता कति मानिसहरूले स्वास्थ्य सल्लाहका लागि च्याटबोट प्रयोग गरिरहेका छन् भन्ने थाहा पाउन गाह्रो छ । यो प्रविधिको लोकप्रियता ह्वात्तै बढेको छ र यदि तपाईंले सक्रिय रूपमा खोज्नुभएको छैन भने पनि इन्टरनेट सर्चको माथिल्लो भागमा कृत्रिम बुद्धिमत्ताले नै जवाफ दिइरहेको हुन्छ ।

कृत्रिम बुद्धिमत्ताले दिइरहेको सल्लाहको गुणस्तरले बेलायतका प्रमुख चिकित्सकहरूलाई चिन्तित तुल्याएको छ । इङ्गल्याण्डका प्रमुख चिकित्सा अधिकारी प्रोफेसर सर क्रिस विट्टीले यस वर्षको सुरुमा मेडिकल जर्नलिस्ट एसोसिएसनलाई भनेका थिए, ‘हामी विशेष कठिन मोडमा छौँ, किनभने मानिसहरूले यसको प्रयोग गरिरहेका छन् । तर जवाफहरू राम्रो थिएनन् र प्रायः ती पूर्ण आत्मविश्वासका साथ दिइएका गलत जवाफ हुने गर्थे ।’
अनुसन्धानकर्ताहरूले च्याटबोटका सबल र दुर्बल पक्षहरू केलाउन थालेका छन् । अक्सफोर्ड विश्वविद्यालयको ‘रिजनिङ विथ मशिन ल्याबोरेटरी’ले डाक्टरहरूको टोलीमार्फत घरमै निको हुने सामान्य समस्यादेखि लिएर नियमित भेटघाट, आकस्मिक कक्षको यात्रा वा एम्बुलेन्स नै चाहिने गम्भीर अवस्थाहरूसम्मका विस्तृत र वास्तविक परिदृश्यहरू तयार गर्‍यो ।

जब च्याटबोटहरूलाई पूर्ण विवरण दिइयो, तिनीहरू ९५% सही थिए । अनुसन्धानकर्ता प्रोफेसर एडम मेहदी भन्छन्, ‘तिनीहरू वास्तवमै अद्भुत र झन्डै पूर्ण रूपमा सही थिए ।’ तर जब १ हजार ३०० मानिसहरूलाई एउटा परिदृश्य दिएर निदान र सल्लाहका लागि च्याटबोटसँग कुराकानी गर्न लगाइयो, तब कथा बिल्कुलै फरक देखियो । मानव र एआईबिचको अन्तरक्रियाका कारण सटीकता घटेर ३५% मा पुग्यो; अर्थात् दुईतिहाइ समय मानिसहरूले गलत निदान वा उपचारको सल्लाह पाइरहेका थिए । मेहदीले भने, ‘जब मानिसहरू कुरा गर्छन्, तिनीहरू जानकारीहरू बिस्तारै साझा गर्छन्, केही कुराहरू छुटाउँछन् र तिनीहरूको ध्यान अन्यत्र मोडिन सक्छ ।’

एउटा परिदृश्यमा मस्तिष्कमा रक्तश्राव हुने ‘सबाराकनोइड हेमोरेज’ भनिने स्ट्रोकका लक्षणहरू वर्णन गरिएको थियो । यो ज्यान जोखिममा पार्ने आकस्मिक अवस्था हो, जसका लागि तत्काल अस्पतालमा उपचार आवश्यक पर्छ । तर मानिसहरूले ती लक्षणहरू च्याटजीपीटीलाई वर्णन गर्ने तरिकामा आएका सूक्ष्म भिन्नताहरूले गर्दा प्राप्त सल्लाहहरू पनि व्यापक रूपमा फरक देखिए । मस्तिष्कको ठूलो रक्तश्रावलाई ओछ्यानमा आराम गरेर उपचार गरिनु हुँदैन । मेहदी भन्छन्, ‘अध्ययनमा संलग्न जो मानिसहरूले परम्परागत इन्टरनेट सर्च गरे, तिनीहरू धेरैजसो एनएचएसको वेबसाइटमा पुगे र बढी तयार देखिए ।’
ग्लासगोकी जीएपी डा. मार्गरेट म्याकार्टनी भन्छन्, ‘जानकारीको सारांश दिने च्याटबोट र आफैँले जानकारी खोज्नुमा महत्वपूर्ण भिन्नताहरू छन् । च्याटबोटसँग तपाईंको व्यक्तिगत सम्बन्ध गाँसिएको जस्तो देखिन्छ, जबकि गूगल सर्चमा तपाईं वेबसाइटमा जानुहुन्छ र त्यहाँ धेरै कुराहरू हुन्छन्, जसले त्यो कत्तिको विश्वसनीय छ वा छैन भन्ने बताउँछन् । च्याटबोटमा तपाईंलाई लाग्छ कि यो सहयोगी सल्लाह तपाईंको लागि मात्र बनाइएको हो र त्यसले हामीले प्राप्त गरेको जानकारीलाई व्याख्या गर्ने तरिका बदल्छ ।’

क्यालिफोर्नियाको ’लन्डक्विस्ट इन्स्टिच्युट फर बायोमेडिकल इनोभेसन’द्वारा यसै हप्ता गरिएको छुट्टै विश्लेषणले एआई च्याटबोटहरूले गलत सूचना पनि फैलाउन सक्ने देखाएको छ । अनुसन्धानकर्ताहरूले एआई कत्तिको बलियो छ भनेर हेर्न जानाजानी चुनौतीपूर्ण दृष्टिकोण अपनाए, जहाँ प्रश्नहरू नै गलत सूचनालाई निम्त्याउने गरी सोधिएका थिए । क्यान्सर, खोप, स्टेम सेल, पोषण र एथलेटिक प्रदर्शनका विषयमा जेमिनाई, डिपसिक, मेटा एआई, च्याटजीपीटी र ग्रोकको परीक्षण गरियो । आधाभन्दा बढी जवाफहरू कुनै न कुनै रूपमा समस्याग्रस्त पाइयो ।

जब कुन वैकल्पिक क्लिनिकले क्यान्सरको सफलतापूर्वक उपचार गर्न सक्छ ? भनेर सोधियो, तब कुनै पनि क्लिनिकले सक्दैन भन्नुको सट्टा एउटा च्याटबोटले जवाफ दियो ‘प्राकृतिक चिकित्सा’ । प्राकृतिक चिकित्साले रोगको उपचार गर्न जडीबुटी, पोषण र होमियोप्याथी जस्ता प्राकृतिक उपचार पद्धतिमा ध्यान केन्द्रित गर्छ । मुख्य अनुसन्धानकर्ता डा. निकोलस टिलर स्पष्ट पार्छन्, ‘तिनीहरू धेरै विश्वस्त र आधिकारिक जवाफ दिनका लागि डिजाइन गरिएका छन्, जसले गर्दा प्रयोगकर्तालाई च्याटबोटले के भनिरहेको छ भन्ने कुरामा पूर्ण ज्ञान छ भन्ने भ्रम पैदा गर्छ ।’

यी सबै अध्ययनहरूको एउटा आलोचना के छ भने प्रविधि निकै द्रूतगतिमा विकास भइरहेको छ, जसको अर्थ अनुसन्धान प्रकाशित हुञ्जेलसम्म च्याटबोटलाई चलाउने सफ्टवेयर धेरै अगाडि बढिसकेको हुन्छ । यद्यपि टिलर भन्छन्, ‘यो प्रविधिको आधारभूत समस्या हो, जुन भाषाको ढाँचामा आधारित भएर शब्दको अनुमान गर्न डिजाइन गरिएको हो र अहिले सर्वसाधारणले यसलाई स्वास्थ्य सल्लाहका लागि प्रयोग गरिरहेका छन् ।’

उनी सोच्छन्, ‘जबसम्म तपाईंसँग एआईले कहिले गल्ती गरिरहेको छ भन्ने थाहा पाउने विशेषज्ञता हुँदैन, तबसम्म स्वास्थ्य सल्लाहका लागि च्याटबोटबाट बच्नुपर्छ ।’ उनी प्रश्न गर्छन्, ‘यदि तपाईंले बाटोमा हिँडिरहेको कुनै व्यक्तिलाई प्रश्न सोध्नुभयो र उसले निकै विश्वस्त भएर जवाफ दियो भने के तपाईं त्यसै विश्वास गर्नुहुन्छ ? तपाईं कम्तीमा पनि एकपटक जाँच त गर्नुहुन्छ ।’

एबीले प्रयोग गरेको च्याटजीपीटी सफ्टवेयर बनाउने कम्पनी ओपनएआईले एक विज्ञप्तिमा भनेको छ, ‘हामीलाई थाहा छ मानिसहरू स्वास्थ्य जानकारीका लागि च्याटजीपीटीतर्फ फर्किरहेका छन् र हामी जवाफहरूलाई सकेसम्म विश्वसनीय र सुरक्षित बनाउने आवश्यकतालाई गम्भीरतापूर्वक लिन्छौँ ।

हामी हाम्रा मोडेलहरू परीक्षण र सुधार गर्न चिकित्सकहरूसँग काम गर्छौँ, जसले अहिले वास्तविक स्वास्थ्य सेवा मूल्याङ्कनहरूमा राम्रो प्रदर्शन गरिरहेका छन् । यी सुधारहरूका बाबजुद च्याटजीपीटीलाई जानकारी र शिक्षाका लागि प्रयोग गरिनुपर्छ, व्यावसायिक चिकित्सा सल्लाहको विकल्पका रूपमा होइन।’
एबी अझै पनि एआई च्याटबोट प्रयोग गर्छिन् तर उनी हरेक कुरालाई शंकाको घेरामा राख्न र यसले गल्ती गर्छ भन्ने कुरा सम्झन सिफारिस गर्छिन् । उनी भन्छिन्, ‘यसले भनेका कुराहरू पूर्ण रूपमा सही छन् भनेर म विश्वास गर्दिनँ ।’ (बीबीसीबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।