म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले ६५ वर्षसम्म घुम्ती गोठमा भैँसीपालन गरे । स्वास्थ्यमा समस्या देखिएपछि नरबहादुरले १५ वर्षको किशोराअवस्थाको उमेरदेखि सुरु गरेको घुम्ती गोठमा भैँसीपालन गर्ने पेसालाई बिट मार्ने तयारी गरेका छन् ।
“मेरो बाल्यकालमा गाई भैँसीको गोठ नहुने घरै हुँदैनथे,” नरबहादुरले भने “अहिले भएका दुई/चार वटा गोठ पनि हामी वृद्धहरूले छाडेपछि हराउने अवस्था छ ।” पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेको सङ्ख्या घट्दै गएको छ ।
बुकीका खर्क र पाटन सुनसान हुन थालेका छन् । गोठालाले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ ।
यस क्षेत्रका किसानले पाल्दै आएको लिमे र पारकोटे जातको भैँसीको आनुवांशिक स्रोत घुम्ती गोठसँगै लोप हुने खतरा बढेको छ । धवलागिरि गाउँपालिका–५ बगरका कृषक किर्तबहादुर घर्तीमगरले जेठमा बेसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्याउने र असोजमा बेसी झार्ने चलन रहेको बताए ।
“बेसिका फाँटमा बर्खेबाली लगाएपछि हप्ता/दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उनले भने “पाँच हजार मिटर उचाइको बुकी पाटनमा बर्खामा पोसिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेसी झार्ने गर्छौँ ।”
पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्न थालेका धवलागिरि गाउँ कार्यपालिकाका प्रवक्ता रहेका वडा नम्बर ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।
“दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईंभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए,” उनले भने “परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बुढापाकाले मात्र धानेका छन् ।”
वडा अध्यक्ष रोकाका अनुसार हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् । युवायुवतीहरू वैदेशिक रोजगारीमा आकर्षित भएका छन् ।
खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईंपालक किसान हर्कबहादुर रोकाले बताए । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ ।
परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । “गोठमा गाईंभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नै पर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ,” उनले भने “तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन् ।” भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईंपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।
विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईंगोरु छ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८, घोडा २२९ थियो ।
सात वडा रहेको धवलागिरिमा हाल गाई चार हजार ४११, भैँसी दुई हजार ८४७, बाख्रा पाँच जहार ९८६, भेडा दुई हजार १९५, बङ्गुर ११९, कुखुरा १६ हजार २२६, खरायो ६७०, घोडा खच्चर २६६को सङ्ख्यामा रहेका गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रकला दाहालले बताइन् ।
नयाँ पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा जिविकोपार्जन, स्वरोजगार र आयआर्जनको सम्भावना भएपनि दुःख गर्नुपर्ने भएका कारण नयाँ पुस्ताको आकर्षण कम हुँदा घुम्तीगोठसँगै स्थानीय जातका गाईंगोरु सङ्कटमा परेका हुन् ।



































