नेपाली युवा र विद्यार्थीहरूमाझ उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि विदेशिँदै अस्ट्रेलिया जाने मोह कुनै नौलो विषय होइन । तर भर्खरै अस्ट्रेलिया सरकारको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ले सार्वजनिक गरेको भिसा शुल्क पुनःसंरचनाको नीतिले अस्ट्रेलिया जाने तयारीमा रहेका र अध्ययन सकेर कर्मथलो बनाउन चाहने नेपाली विद्यार्थीहरूलाई धक्का दिएको छ ।
सन् २०२६–२०२७ को बजेट योजनाअन्तर्गत १ जुलाईदेखि लागू हुने गरी भिसा आवेदन शुल्कमा २५ प्रतिशतसम्मको भारी वृद्धि गरिएको छ । नयाँ व्यवस्थाले अस्ट्रेलियाको यात्रालाई थप खर्चिलो मात्र बनाएको छैन, बरु मध्यम वर्गीय नेपाली विद्यार्थी र अभिभावकहरूलाई भिसा आवेदनकै चरणदेखि नै आर्थिक तनावको भुमरीमा धकेलिदिएको छ ।
संशोधित नियमअनुसार अब अध्ययन भिसा शुल्क २ हजार अस्ट्रेलियाली डलरबाट बढेर २ हजार ५०० डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा झण्डै ३ लाख ८२ हजार हुन आउँछ । पढाइ सकेर काम वा इन्टर्नशिप गर्न चाहनेहरूले लिने अस्थायी स्नातक भिसाको शुल्क पनि बढाएर ५ हजार ७५० डलर पुर्याइएको छ । अन्तर्राष्ट्रिय स्तरको भासा परीक्षा र तयारी कक्षामै लाखौँ खर्च गरिसकेका विद्यार्थीका लागि भिसा लाग्ने शतप्रतिशत निश्चितता हुँदैन । भिसा अस्वीकृत भएमा तिरेको रकम फिर्ता नहुने हुँदा नेपाली विद्यार्थीहरूले ठूलो पुँजी गुमाउने जोखिम बढेको छ । आर्थिक बोझ र मानसिक दबाबले अब विदेशी शिक्षा नेपालीका लागि आकाशको फलजस्तै महँगो र अनिश्चित बन्दै गइरहेको छ ।
प्रत्येक वर्ष देशको अर्बौँ रुपैयाँ शिक्षाका नाममा विदेशिनु र लाखौँ उर्जावान् युवाहरूले अर्काको देशमा जीवन खर्चिनु उचित होइन । विदेशी नीति र महँगो शुल्कको अगाडि लाचार बन्नुभन्दा राज्यले आफ्नै माटोमा युवा टिकाउने र जीवनोपयोगी शिक्षा दिने वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो ।
नेपालको शिक्षा प्रणाली केवल सैद्धान्तिक ज्ञान र प्रमाणपत्र वितरण गर्ने कारखाना जस्तो मात्र बनेको छ । बजारको माग र व्यावहारिक जीवनका लागि आवश्यक पर्ने सीपयुक्त शिक्षाको अभावमा युवाहरू डिग्री हासिल गरेर पनि बेरोजगार बस्न बाध्य छन् । यही प्रणालीगत कमजोरी र देशभित्र रोजगारीका अवसरहरूको खडेरीका कारण युवा पुस्ता जसरी पनि विदेशिन मरिहत्ते गरिरहेका छन् । कतिपय नेपाली विद्यार्थीहरू त अस्ट्रेलिया पुगेपछि नयाँ परिवेश, अध्ययन र कामको सन्तुलन मिलाउन नसक्दा एक्लोपन र बढ्दो ऋणको दबाबका कारण मानसिक रोगको शिकार समेत भइरहेका छन् । विदेशमा भोग्नुपर्ने यस्ता सास्ती र नयाँ आर्थिक नीतिले अब हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ, आखिर कहिलेसम्म नेपाली युवाहरू यसरी नै विदेशी भूमिको कठोर संघर्ष र अनिश्चिततामा होमिनुपर्ने ?
राज्यले टुलुटुलु हेरेर बस्ने वा युवा विदेशिएकोमा चिन्ता मात्र प्रकट गर्ने समय घर्किसकेको छ । अस्ट्रेलियाको महँगो भिसा नीति नेपालका लागि एउटा पाठ र अवसर दुवै बन्न सक्छ । सरकारले देशको उच्च शिक्षालाई आमूल रूपान्तरण गरी स्वदेशमै जीवनोपयोगी शिक्षाको अवधारणालाई दृढताका साथ लागू गर्नुपर्छ । जीवनोपयोगी शिक्षा भन्नाले केवल किताब घोकाउने मात्र होइन, बरु विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रविधिमैत्री, व्यावसायिक, सीपमूलक र उद्यमशीलतामा आधारित शिक्षा हो । विश्वविद्यालय र विद्यालयका पाठ्यक्रमहरूलाई देशको जल, जमिन, पर्यटन, सूचना प्रविधि र स्थानीय उद्योगहरूसँग जोड्नु आवश्यक छ ।
सरकारले स्वदेशमै गुणस्तरीय कलेज र अनुसन्धान केन्द्रहरू स्थापना गर्न लगानी बढाउनुपर्छ । उद्यम गर्न चाहने युवाहरूका लागि सस्तो ब्याजदरमा ऋण, सहुलियत र प्रशासनिक सहजता प्रदान गर्ने नीति ल्याउनुपर्छ । युवाहरूलाई स्वदेशको माटोमा सुरक्षित र उज्यालो भविष्य देखाउन सकेमा बौद्धिक पलायन र पुँजी पलायनको गति रोक्न सकिन्छ । अस्ट्रेलियाले भिसा शुल्क बढाएर विदेशी विद्यार्थीका लागि कडाइ गरेका बेला नेपाल सरकारले युवाहरूलाई स्वदेशमै समेट्ने ढोका खोल्नुपर्छ ।
समाचार मिति २०८३ असार १९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































