सामाजिक सञ्जालको सदुपयोगबाट स्वरोजगार

आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकाससँगै सामाजिक सञ्जाल मानिसको दैनिक जीवनको अभिन्न अंग बनेको छ । प्रायः मनोरञ्जन, भ्रामक सूचना प्रवाह र समयको बर्बादीका रूपमा आलोचना खेप्दै आएको सामाजिक सञ्जाललाई यदि रचनात्मक र उत्पादनमूलक काममा जोड्न सकेमा जीवनयापनको नयाँ उपाय निकाल्न सकिने कुरा कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले पुष्टि गरेका छन् ।

उनले यूट्युब र अन्य सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । यसले डिजिटल प्रविधिलाई युवा तथा कृषकहरूले स्वरोजगार र उद्यमशीलताको माध्यम बनाउन सक्ने अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ ।  वैदेशिक रोजगारीको मोह र बेरोजगारीको निराशाबिच रुमल्लिएको नेपाली समाजमा प्रविधिको सदुपयोग गरी घरआँगनमै नयाँ सम्भावना पहिल्याउन सकिने सन्देश बेलवासेले दिएका छन् ।

बेलवासेले करिब डेढ वर्षअघि ४ कट्ठा जमिनमा ६२८ वटा ड्रागन फ्रुटका बिरुवा रोपेर सुरु गरेको व्यवसायबाट छोटो समयमै प्रतिफल लिन थालेका छन् । प्रतिबिरुवा १६० रुपैयाँका दरले लगानी गरी १५७ वटा पोलमा सुरु गरिएको खेतीबाट उनले हालसम्म ३ पटक फल उत्पादन गरी बिक्री गरिसकेका छन् भने चौथो पटकको उत्पादन लिने तयारीमा छन् । बजारमा प्रतिकिलोग्राम ४०० रुपैयाँसम्ममा सजिलै बिक्री हुने र ग्राहकहरू घरमै आएर खरिद गर्ने भएकाले बजारीकरणको कुनै समस्या नरहेको उनको अनुभव छ । सामाजिक सञ्जालबाट प्राप्त सही ज्ञान र आधुनिक बालीको छनोट गर्न सके परम्परागत कृषिभन्दा धेरै गुणा बढी आम्दानी आर्जन गर्न सकिने सन्देश उनले दिएका छन् ।

नेपालमा लामो समयदेखि कृषि क्षेत्र परम्परागत धान, गहुँ र मकै खेतीमा मात्र सीमित रहँदा किसानहरूको आर्थिक अवस्था उकासिन सकेको थिएन । तर पछिल्लो समय प्रविधिको पहुँचका कारण परम्परागत बालीको विकल्पमा उच्च मूल्य दिने फलफूल तथा व्यावसायिक खेतीतर्फ किसानहरूको आकर्षण बढ्नु सुखद हो । डिजिटल सञ्जालहरू ज्ञानका भण्डार हुन्, जहाँ विश्वभरका आधुनिक कृषि प्रणाली, गोडमेल, सिँचाइ र कीरा नियन्त्रणका प्रविधिहरू सजिलै सिक्न सकिन्छ । बेलवासे जस्तै अन्य धेरै युवाहरूले पनि सामाजिक सञ्जालको सदुपयोग गर्दै कौसी खेती, टनेल खेती, माछापालन वा पशुपालन जस्ता क्षेत्रमा स्वरोजगारका नयाँ क्षेत्रहरू पहिचान गर्न सक्ने देखिन्छ ।

सामाजिक सञ्जालबाट प्राप्त ज्ञान प्रारम्भिक मार्गदर्शनका लागि उपयोगी भए तापनि व्यावसायिक सफलताका लागि व्यावहारिक र प्राविधिक ज्ञानको आवश्यकता पर्छ । स्थानीय तह र कृषि ज्ञान केन्द्रहरूले प्रविधिको प्रयोग गरी खेती सुरु गर्ने किसानहरूलाई प्राविधिक तालिम, सिँचाइ सुविधा, बिमा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्छ । सामाजिक सञ्जाललाई मनोरञ्जनको साधन मात्र नबनाई ज्ञान, सीप र स्वरोजगारको माध्यम बनाउन सकिने यथार्थबाट सबैले प्रेरणा लिन सक्छन् । प्रविधिलाई उत्पादन र व्यवसायसँग जोड्न सके मुलुकभित्रै रोजगारीका थुप्रै अवसरहरू सिर्जना गर्न सकिन्छ । युवाहरूले सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्दै नयाँ सोच र उद्यमशीलता अपनाउनु आजको आवश्यकता हो । डिजिटल ज्ञानलाई व्यावहारिक रूप दिएर आत्मनिर्भरतातर्फ पाइला बढाएका यस्ता उद्यमी किसानहरूलाई प्रवद्र्धन र प्रोत्साहन गर्नु राज्यको दायित्व हुन्छ ।

२०८३ भदौ २३ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रयि दैनकिबाट साभार ।