समुद्रमुनि सर्दैछ अमेरिका–चीन प्रविधि शीतयुद्ध

यसै वर्षको सुरुमा सिङ्गापुरमा आयोजित क्षेत्रीय रक्षा सम्मेलनमा अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्ल्सले समुद्रको पिँधलाई युद्धमैदानका रूपमा वर्णन गर्दा उनले पहिले नै सहमत भइसकेका मानिसहरूलाई सम्झाउँदै थिए । ९५ प्रतिशतभन्दा बढी डाटा प्रवाह र दैनिक खर्बौँ डलरको वित्तीय कारोबार ओसारपसार गर्ने समुद्रमुनिका केबलहरूको सुरक्षा बैठक कक्षमा उपस्थित वरिष्ठ सैन्य अधिकारीहरू, भू–राजनीतिक विश्लेषकहरू र सरकारी मन्त्रीहरूका लागि पहिले नै शीर्ष प्राथमिकताको विषय थियो ।

अस्ट्रेलिया, यूके र अमेरिकाद्वारा सन् २०२७ सम्ममा केबलहरूको रक्षा गर्न पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने एक नयाँ आयोजनाको द्रूत घोषणा गरियो, जबकि सिङ्गापुरले महत्वपूर्ण पूर्वाधारमा रक्षा सहकार्यको खोजी गर्न दक्षिणपूर्वी एसिया, युरोप, मध्यपूर्व र ओसियानिया समेट्ने १७ देशको ढाँचा सुरु गर्‍यो । तर राष्ट्रहरू अवस्थित सञ्जालहरूको रक्षा गर्न प्रतिस्पर्धा गरिरहेका बेला, दक्षिणपूर्वी एसियाको डिजिटल पूर्वाधार निर्माण गर्ने कम्पनीहरूले अर्कै चुनौतीको सामना गरिरहेका छन्‌ः सामुद्रिक अवरोधहरू र चीनको विस्तार भइरहेको सामुद्रिक उपस्थितिले सिर्जना गरेको जोखिमबाट जोगिनु । इन्डोनेसिया, मलेसिया र सिङ्गापुरबिचको साँघुरो जलडमरू, मलाक्का जलडमरूमध्य, त्यस करिडोरबाट पार हुने केबलहरूको अत्यधिक केन्द्रीकरणका कारण विशेष रूपमा संवेदनशील छ ।

पहिले नै इन्डो–प्यासिफिकको सबैभन्दा महत्वपूर्ण अवरोध बिन्दु मानिने (जसले मूल्यका हिसाबले विश्वव्यापी सामुद्रिक व्यापारको करिब २१ प्रतिशत सम्हाल्छ) जलडमरूमध्यलाई ठूला निजी सुमुद्रमुनिका केबल आयोजनाहरूले बढावा दिँदै उपेक्षा गरिरहेका छन् । उदाहरणका लागि गूगलको ‘तलाइलिंक’ले जलडमरूमध्यको पश्चिममा रहेको मार्ग पछ्याउँदै हिन्द महासागर भई अस्ट्रेलिया र थाइल्यान्डलाई जोड्नेछ, जसले यो भीडभाडयुक्त करिडोरलाई पन्छाउनेछ । तर केन्द्रीकरण मात्रै एकमात्र जोखिम होइन । केबल मार्गहरूमाथिको भूराजनीतिक प्रतिस्पर्धा दक्षिण चीन सागरमा जति स्पष्ट अन्यत्र कतै छैन, जहाँ चीनले विवादित जलक्षेत्रमा कसले केबल पूर्वाधार निर्माण र मर्मत गर्न पाउँछ भन्ने कुरा नियन्त्रण गर्न नियमन र सामुद्रिक अनुगमन/कार्यान्वयनको प्रयोग गरिरहेको छ । बेइजिङले प्रभावकारी रूपमा समुद्रमुनिको केबल नक्सालाई पुनः कोर्ने प्रयास गरिरहेको छ, जबकि अमेरिका र उसका साझेदारहरू पछाडि धकेल्ने नयाँ तरिकाहरू खोजिरहेका छन् ।

गूगल र मेटा प्लेटफर्म्स इंकको ‘इको’ केबल (जसले गुआम र इन्डोनेसिया भई अमेरिकालाई सिंगापुरसँग जोड्छ) ले प्रविधि कम्पनीहरूले चीनसँगको आफ्नो जोखिम/सम्पर्क घटाउन एसिया–प्रशान्त सञ्जालहरूलाई कसरी पुनः डिजाइन गरिरहेका छन् भन्ने देखाउँछ । यी दिग्गज कम्पनीहरूले बेइजिङलाई पन्छाउनु थप लागत र कम उपयुक्त भूभागमा केबल बिछ्याउने जोखिम मोल्न योग्य छ भन्ने निर्णय गरेका छन् । अवश्य पनि यसलाई अमेरिका–चीन प्रतिस्पर्धाको अर्को उप–क्षतिको रूपमा खारेज गर्ने लोभ हुन सक्छ । तर यसको दीर्घकालीन परिणाम हुनेछ । यो अत्यधिक महँगो महत्वपूर्ण पूर्वाधारका लागि चुनिएका मार्गहरूले आउँदा दशकहरूसम्म यो क्षेत्रलाई प्रभाव पार्नेछन्, राष्ट्रहरूबिचको सम्बन्धलाई बलियो बनाउनेछन् र अरूलाई झन्‌–झन् अलग्याउनेछन् ।

मेलबर्नस्थित ला ट्रोब विश्वविद्यालयका अनुसन्धानकर्ता तथा पनडुब्बी केबलहरूबारे एकसहित दुई वटा हालैका पुस्तकका लेखक स्यामुएल ब्यासफिल्डले लेखेका छन् कि बिछ्याउनेहरू दक्षिण चीन सागरमा काम गर्न झन्‌–झन् सतर्क भइरहेका छन्, जसमध्ये धेरैले यो क्षेत्रलाई पूर्णरूपमा पन्छाउने गरेका छन् । मर्मत टोलीहरूलाई दुर्व्यवहार गर्न वा उनीहरूलाई केबल क्षेत्रमा पुग्नबाट रोक्न चिनियाँ कोस्ट गार्डका जहाजहरू तैनाथ गर्नुबाहेक बेइजिङले कडा अनुमति आवश्यकताहरूमार्फत गैरचिनियाँ समुद्रमुनिका फाइबर आयोजनाहरूलाई प्रभावकारी रूपमा बाहिर राखेको छ ।

‘यी ढिलाइहरूले केही नयाँ आयोजनाहरूलाई समुद्री तटहरू पछ्याउँदै र होचा समुद्रको पिँधमा केबलहरू जोत्दै मार्ग पूर्णरूपमा बदल्न बाध्य पारेका छन्, जुन सञ्जालको लचिलोपनका लागि आदर्शभन्दा कम समाधान हो,’ ब्यासफिल्डले मलाई भने ।
स्टार्टअप इनलिगो नेटवर्कको नेतृत्वमा रहेको ७० करोड डलरको ‘एसिया कनेक्ट केबल सिस्टम’, उदाहरणका लागि इन्डोनेसिया र फिलिपिन्स भई जाँदै दक्षिण चीन सागरलाई पन्छाउनेछ । अमेरिकालाई ताइवान र फिलिपिन्ससँग जोड्ने ‘प्यासिफिक लाइट केबल नेटवर्क’ले अमेरिकी हस्तक्षेपपछि यसको योजनाबद्ध हङकङ जडान रद्द गरिएपछि यस्तै परिवर्तन व्यहोरेको थियो । अमेरिकाले दक्षिणपूर्वी एसियाली र प्रशान्त राष्ट्रहरूलाई चिनियाँ विक्रेताहरूलाई त्यागेर अमेरिकी, जापानी वा युरोपेली विकल्पहरूको पक्षमा उभ्याउन ठूलो प्रयास खर्च गरेको छ । दुवै महाशक्तिहरू डराउँछन् कि केबल पूर्वाधारमा विदेशी संलग्नताले गुप्तचर संकलन वा तोडफोडलाई सक्षम बनाउन सक्छ । वासिङ्टनले चिनियाँ प्रविधिलाई सुरक्षा जोखिम मान्छ, जबकि बेइजिङले अमेरिकी र जापानी उपकरणहरूको बारेमा यस्तै चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी सूक्ष्म निगरानी बढ्दै जाँदा हुवावेले सन् २०१९ मा ‘हुवावे मरीन नेटवर्क’मा रहेको आफ्नो ५१ प्रतिशत शेयर चीनको ‘हेङतोङ अप्टिक–इलेक्ट्रिक’लाई बेच्न सहमत भयो, जसले यसको बेलायती साझेदारको शेयर पनि अधिग्रहण गर्‍यो । केबल निर्माण व्यवसायलाई पछि ‘एचएमएन टेक्नोलोजी कम्पनी’ नामकरण गरियो । तैपनि यसको स्वामित्व र प्राविधिक उत्पत्तिले गर्दा अमेरिका र जापान तथा अस्ट्रेलिया जस्ता सहयोगीहरू एसियाभरि यसको प्रयोग घटाउन चाहन्छन् ।

उनीहरूले केही हालैका सफलताहरू हासिल गरेका छन्‌ः अगस्टमा, अस्ट्रेलियाले घोषणा गर्‍यो कि प्यासिफिक आइल्यान्ड्स फोरमका प्रत्येक सदस्य पहिलो पटक विश्वव्यापी समुद्रमुनिको केबल सञ्जालमा जोडिएका छन् । यो एक महत्वपूर्ण उपलब्धि हो । तर यसको मतलब चिनियाँ कम्पनीहरूलाई प्रशान्त क्षेत्रबाट पूर्ण रूपमा बहिष्कृत गरिएको छ भन्ने होइन । अबको युद्धमैदान डाटा सेन्टर हो । पनडुब्बी केबलहरूलाई वित्तपोषण गर्ने देशहरूले स्थानीय रूपमा डाटा भण्डारण र प्रशोधन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न पनि मद्दत गर्नुपर्नेछ, अन्यथा चिनियाँ आपूर्तिकर्ताहरूले त्यो रिक्तता पूर्ति गर्ने जोखिम रहन्छ ।

त्यसमध्ये धेरै काम जापानको काँधमा पर्नेछ, जसले निर्माताका रूपमा र उत्तर अमेरिका र एसियाबिचको कनेक्टिभिटी हबका रूपमा महत्वपूर्ण भूमिका खेल्छ । एनईसी कर्पोरेसन एक्लै विश्वको सबैभन्दा ठूलो समुद्रमुनिका केबल निर्माणकर्ताहरूमध्ये एक हो । टोकियोले इन्डो–प्यासिफिकमा प्रणालीहरूलाई सुदृढ पार्न र चीनको प्रभुत्व घटाउन मद्दत गर्न केबल बिछ्याउने क्षमता विस्तार गर्न अमेरिका, जापान, भारत र अस्ट्रेलिया समावेश भएको क्वाड जस्ता समूहहरूका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को उपयोग गर्न आवश्यक छ । आसियान नेताहरू अर्को महिना मनिलामा जम्मा हुँदैछन्, जहाँ क्वाड नेताहरूको बैठक पनि योजनाबद्ध छ । समुद्रमुनिको केबल सुरक्षा उनीहरूको एजेन्डाको शीर्ष स्थानमा हुनुपर्छ ।

महत्वपूर्ण केबल मार्गहरूमाथि बेइजिङको प्रभावलाई नियन्त्रण गर्ने प्रयासहरूमा भने एउटा व्यंग्य छः त्यो धेरैजसो शक्ति सट्टामा अमेरिकी प्रविधि दिग्गजहरूको सानो समूहको हातमा केन्द्रित भइरहेको छ । यसमा सम्भावित रूपमा के गलत हुन सक्छ र ?
(लेखक पोलार्ड एसियाली राजनीति र नीति समेट्ने ब्लूमबर्ग विचार स्तम्भकार हुन् ।) एनडीटीभीबाट भावानुवाद