माओवादी केन्द्रका नेता महरासँग नाम जोडिएकी रोशनी शाही मृत फेला

भक्तपुर । बालकोटमा एक महिला मृत फेला परेकी छन् । सूर्यविनायक नगरपालिका-३ स्थित एक घरमा ५० वर्षीया रोशनी शाही मृत फेला परेकी हुन् ।

शाही बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज नेउपानेका अनुसार आइतबार दिउँसोसम्म पनि उनी बसेको कोठाको ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा सुत्ने कोठाको भुइमा उनको शव फेला परेको थियो ।

उनका श्रीमान् उपत्यका बाहिर गएकाले केही दिनदेखि उनी कोठामा एक्लै बस्दै आएकी थिइन् । प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा उनी कोठाभित्रै मृत भेटिएकी हुन् । जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा रहेको बुझिएको छ । उनको शरीरमा कुनै चोटपटक भने छैन ।

के कति कारणले मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पूर्व सभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जबर्जस्ती करणी गरेको भन्दै शाहीले ६ वर्ष अगाडि प्रहरी कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।