नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको उदय र त्यसलाई निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त भएसँगै देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक परम्परा बोकेको पार्टीले एकैपटक दुई ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको छ—पुस्तान्तरण र रूपान्तरण । यो घटना केवल नेतृत्व फेरबदलको औपचारिकता होइन; यो नेपाली राजनीतिक संस्कृतिमा गहिरो प्रभाव पार्ने मोड हो, जसले कांग्रेसको भविष्य मात्र होइन, समग्र लोकतान्त्रिक अभ्यासको दिशालाई पनि प्रभावित गर्नेछ ।
करिब आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस नेपालको हरेक निर्णायक राजनीतिक परिवर्तनको अग्रपंक्तिमा उभिएको पार्टी हो । राणा शासनविरुद्धको सशस्त्र र असशस्त्र संघर्ष, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०१७ सालपछि लोकतन्त्र पुनःस्थापनाका प्रयास, २०४६ को जनआन्दोलन, २०६२/६३ को ऐतिहासिक परिवर्तन हुँदै गणतन्त्र स्थापनासम्म कांग्रेसको भूमिका निर्णायक रह्यो । लोकतन्त्र, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा र अभिव्यक्ति स्वतन्त्रताको राजनीतिक आधार तयार गर्ने पार्टीका रूपमा कांग्रेसको योगदान अस्वीकार गर्न सकिँदैन ।
तर यही गौरवशाली इतिहास पछिल्ला वर्षहरूमा कांग्रेसका लागि बोझ पनि बन्दै गयो । लामो समयसम्म नेतृत्व पुस्तान्तरण हुन नसक्नु, गुट–उपगुटको राजनीति, आन्तरिक लोकतन्त्रको क्षय र सत्ता–केन्द्रित सोचले पार्टीको वैचारिक तेज र जनआकर्षण कमजोर बनायो । कांग्रेस परिवर्तनको नेतृत्वकर्ता भन्दा पनि परिवर्तनबाट डराउने संस्थाजस्तो देखिन थाल्यो । यही पृष्ठभूमिमा विशेष महाधिवेशन र त्यसबाट उदाएको नयाँ नेतृत्वलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन ।
गगन थापाको उदय आकस्मिक छैन । यो पार्टीभित्र वर्षौंदेखि सञ्चित असन्तोष, नयाँ सोच र रूपान्तरणको चाहनाको संस्थागत अभिव्यक्ति हो । निर्वाचन आयोगबाट आधिकारिक मान्यता प्राप्त भएसँगै यो परिवर्तन केवल भावनात्मक उत्साहमा सीमित रहेन, कानुनी र राजनीतिक यथार्थमा रूपान्तरित भयो । यसले कांग्रेस अब इतिहासको गौरवमा मात्र होइन, भविष्यको भरोसामा पनि राजनीति गर्न तयार भएको संकेत दिएको छ ।
यो पुस्तान्तरणको सबैभन्दा ठूलो महत्व नयाँ पुस्तासँग जोडिएको छ । विशेषतः जेन जी—डिजिटल युगमा हुर्किएको, विश्वव्यापी सोच राख्ने, सूचनाप्रति सजग, प्रश्न गर्न नहिच्किचाउने र परिणाममुखी राजनीति खोज्ने पुस्ता अब कांग्रेसका लागि निर्णायक शक्ति बन्नेछ । जेन जी कुनै साधारण युवा समूह होइन; यो सोच, मूल्य र राजनीतिक व्यवहारको नयाँ संरचना हो । उनीहरू भाषणभन्दा कार्य, नारा भन्दा नीति र अनुशासनभन्दा जवाफदेहिता खोज्छन् ।
अबको कांग्रेसको मुख्य परीक्षा यही हो—के उसले जेन जी आन्दोलनको मर्मलाई संस्थागत गर्न सक्छ? सामाजिक सञ्जालमा सक्रिय हुनु वा युवालाई पद दिनु मात्र पर्याप्त हुँदैन । पारदर्शिता, आन्तरिक लोकतन्त्र, योग्यता आधारित नेतृत्व चयन, नीति निर्माणमा वास्तविक युवा सहभागिता र निर्णय प्रक्रियामा खुलापन अनिवार्य छ । पार्टीभित्र आलोचना सहने संस्कृति, तथ्यमा आधारित बहस र प्रविधिको उपयोग बिना जेन जीको विश्वास जित्न सकिँदैन ।
रूपान्तरणको अर्को महत्त्वपूर्ण आयाम वैचारिक स्पष्टता हो । कांग्रेसले लामो समयदेखि बोकेको लोकतान्त्रिक समाजवाद आजको सन्दर्भमा के हो भन्ने प्रश्नको ठोस उत्तर दिनैपर्छ । बेरोजगारी, वैदेशिक पलायन, शिक्षा र स्वास्थ्यको गुणस्तर, आर्थिक असमानता, सुशासन, भ्रष्टाचार नियन्त्रण र जलवायु परिवर्तनजस्ता मुद्दामा स्पष्ट, मापनयोग्य र कार्यान्वयनयोग्य नीति आवश्यक छ । केवल अघिल्ला उपलब्धिको स्मरणले नयाँ पुस्तालाई आकर्षित गर्न सकिँदैन ।
विशेष महाधिवेशनले कांग्रेसलाई पुनः एकपटक ऐतिहासिक अवसर दिएको छ । तर इतिहासले सिकाएको पाठ स्पष्ट छ—अवसर आफैंमा उपलब्धि हुँदैन, त्यसलाई कसरी उपयोग गरिन्छ भन्ने नै निर्णायक हुन्छ । यदि नयाँ नेतृत्वले पनि सत्ता समीकरण, गुटगत सन्तुलन र अल्पकालीन राजनीतिक फाइदालाई प्राथमिकता दियो भने यो पुस्तान्तरण निष्फल हुनेछ । तर यदि संस्थागत सुधार, सुशासन र जनउत्तरदायी राजनीतिलाई व्यवहारमा उतार्न सकियो भने कांग्रेस फेरि लोकतन्त्रको भरोसायोग्य स्तम्भ बन्न सक्छ ।
आज नेपाली कांग्रेस इतिहास र भविष्यको दोभानमा उभिएको छ । पुस्तान्तरण सम्पन्न भएको छ, अब वास्तविक चुनौती रूपान्तरणलाई व्यवहारमा उतार्नु हो । जेन जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै नयाँ सामाजिक सम्झौता गर्न सक्नु नै अबको कांग्रेसको ऐतिहासिक जिम्मेवारी हो । यही जिम्मेवारी पूरा गर्न सके कांग्रेसले आगामी दशकहरूमा पनि नेपालको लोकतान्त्रिक यात्राको नेतृत्व गर्न सक्नेछ; नसके इतिहासको गौरव स्मरण गर्ने पार्टीमा सीमित हुने जोखिम कायमै रहनेछ ।
मिति २०८२ माघ ४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।

































