पर्यटकीय केन्द्र पोखरामा फोहोरको धब्बा

प्रकृतिको अनुपम वरदान र नेपालको पर्यटकीय राजधानी पोखरा अहिले फोहोरको डंगुरले थिचिएको छ । विगत केही दिनयता शहरका चोक, गल्ली र पर्यटकीय क्षेत्रका सडक किनारमा फोहोरका पहाड थुप्रिँदा सुन्दर नगरी पोखराको स्वरूप मात्र कुरूप बनेको छैन, समग्र पर्यटन उद्योग र मानव स्वास्थ्यमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र मानिने शहरमा दुर्गन्ध फैलिनु र फोहोर व्यवस्थापनमा महानगरपालिकाको लाचारी देखिनु लज्जास्पद हो । पर्यटन र सरसफाइ एकअर्काका पूरक हुन् । कुनै पनि पर्यटकीय गन्तव्यको पहिलो प्रभाव स्वच्छता र वातावरणीय सुन्दरताले निर्धारण गर्छ । पर्यटकहरू पोखरा आउनुको मुख्य उद्देश्य यहाँको कञ्चन फेवाताल, सेता हिमाल र स्वच्छ हावापानीको आनन्द लिनु हो । तर जब पर्यटकले सडकका चोक–चोकमा कुहिएको फोहोर र त्यसबाट निस्किने दुर्गन्धको सामना गर्नुपर्छ, त्यसले पर्यटनमा पर्ने नकारात्मक प्रभावले देशकै छविलाई खराब देखाउँछ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइट भरिएपछि उत्पन्न संकटले महानगरको योजनाविहीन कार्यशैलीलाई उदाङ्गो पारेको छ ।

पोखरामा फोहोर व्यवस्थापनको समस्या नयाँ होइन तर यस पटकको संकटले महानगरको दीर्घकालीन सोचको अभावलाई पुष्टि गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरा–१८ बाच्छेबुडुवाको स्थायी ल्यान्डफिल साइट बन्द गरियो । विमानस्थल सञ्चालनको तयारी भइरहँदा नै वैकल्पिक र स्थायी व्यवस्थापन केन्द्रको खोजी गरिनुपर्थ्यो । तर अस्थायी समाधानका रूपमा लामेआहाललाई प्रयोग गरिनु र अहिले त्यो भरिएपछि मात्र नयाँ ठाउँको खोजीमा दौडधुप गर्नु ‘आगो लागेपछि इनार खन्नु’ जस्तै हो । इन्जिनीयरहरूले स्थान अभावको दुःखेसो पोखिरहँदा महानगरवासीले दुर्गन्ध र स्वास्थ्य जोखिमको सास्ती भोग्नुपरेको छ ।

सरसफाइ केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, यो पर्यटन प्रवद्र्धनको मेरुदण्ड पनि हो । एकपटक आएको पर्यटकले पोखराको फोहोर र अव्यवस्थाको अनुभव लिएर फर्किएमा त्यसको नकारात्मक सन्देशले भविष्यका हजारौं पर्यटकलाई रोक्न सक्छ । पर्यटनबाटै आर्थिक समृद्धि खोजिरहेको पोखराका लागि यो धब्बा निकै महंगो पर्न सक्छ । सडकमा फोहोर फाल्ने र सार्वजनिक स्थलमा खाडल खनेर पुर्ने जस्ता झारा टार्ने कामले समस्या समाधान गर्दैन, बरु यसले वातावरणीय प्रदूषणलाई थप जटिल बनाउँछ । पर्यटनको केन्द्र पोखराले सरसफाइ जस्तो आधारभूत कुरामै चुक्नु बिडम्बनापूर्ण अवस्था हो ।

पोखरा महानगरपालिकाले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा ‘हरित रोजगारी सिर्जना परियोजना’ सञ्चालन गरिरहेको छ । चक्रीय अर्थतन्त्रको अवधारणाअनुसार फोहोरलाई उद्यम र आर्थिक उपार्जनसँग जोड्ने प्रयास प्रशंसनीय छ । तर दैनिक उत्पादन हुने १८०–२०० टन फोहोरमध्येको ठूलो हिस्सा रहने अनुत्पादक फोहोरको व्यवस्थापनमा परियोजना र महानगर दुवै चुकेका छन् । जबसम्म घरबाटै फोहोरको वर्गीकरण गरिँदैन र विसर्जनका लागि स्थायी संरचना निर्माण हुँदैन, तबसम्म यस्ता परियोजनाहरू कागजमा मात्र सीमित रहनेछन् ।

फोहोर व्यवस्थापनमा नागरिकको पनि उत्तिकै दायित्व हुन्छ । महानगरले घरमै फोहोर राखिदिन गरेको आग्रहलाई पालना गर्दै नागरिकले पनि सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति त्याग्नुपर्छ । तर नागरिकलाई उपदेश दिनुअघि महानगरले आफ्नो जिम्मेवारी अर्थात् फोहोर नियमित उठाउन र विसर्जन गर्ने कार्यलाई प्रभावकारी बनाउनुपर्छ । स्थानीयवासीको अवरोध र जग्गा प्राप्तिको समस्यालाई राजनीतिक र सामाजिक संवादमार्फत समाधान गरी स्थायी ल्यान्डफिल साइटको टुङ्गो लगाउनु अहिलेको अनिवार्य आवश्यकता हो ।

पोखरालाई पर्यटकीय राजधानी मान्नुको अर्थ यसलाई दक्षिण एसियाकै सफा र सुन्दर शहर बनाउनु पनि हो । सडकमा थुप्रिएको फोहोरले पोखराको सौन्दर्यलाई घटाउँदै लगेको छ । महानगर नेतृत्वले अब ओठे जवाफ दिएर मात्र हुँदैन, युद्धस्तरमा वैकल्पिक व्यवस्थापनको ठोस निर्णय लिनुपर्छ । पर्यटकीय केन्द्रमा लागेको फोहोरको धब्बालाई समयमै नमेट्ने हो भने पोखराको पर्यटन व्यवसाय मात्र होइन, समग्र जनजीवन नै प्रभावित हुने निश्चित छ । फोहोरलाई संकट होइन, अवसरका रूपमा बदल्न महानगरको दृढ इच्छाशक्ति र नागरिकको सक्रिय सहभागिता अब ढिलाइ गर्नु हुँदैन ।
मिति २०८२ माघ २२ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।