चितवनमा जंगली हात्तीको वितण्डाः एउटै परिवारको तीन पुस्तामाथि धुर्वे कहर

काठमाडौं । शनिबारको त्यो रात चितवनको भरतपुर महानगरपालिका–२३, जगतपुरस्थित बोटे टोलका लागि सामान्य र शान्त थियो । दिनभरिको कामको थकाइपछि २४ वर्षीया आशिका बोटे आफ्नो परिवारका साथ घरमा सुतिसकेकी थिइन् ।

तर मध्यरातमा प्रकृति र मानवबीचको द्वन्द्वले यस्तो भयानक रूप लियो, जसले एउटा हाँस्दै–खेल्दै गरेको परिवारलाई क्षणभरमै तहसनहस बनाइदियो । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बदनाम जंगली हात्ती ’ध्रुबे’ ले बस्तीमा पसेर आगो र रगतको ताण्डव मच्चायो, जसमा परेर आशिका र उनका ४ वर्षका छोरा भरत बोटेले अकालमै ज्यान गुमाउनु पर्यो। यो दुःखद घटनाले जगतपुर मात्र होइन, सिंगो चितवन र देशलाई नै स्तब्ध बनाएको छ । त्यस रात करिब ११ः३० बजेको थियो। गाउँलेहरू गहिरो निद्रामा थिए । बाँसका कप्टेरा र माटोले लिपेर बनाइएको पूर्ण बोटेको सानो झुपडी बाहिर अचानक भारी र डरलाग्दो पदचाप सुनियो । केही बुझ्न नपाउँदै मात्तिएको ध्रुबे हात्तीले पूर्णको घरलाई जोडले हल्लाउन थाल्यो । कमजोर माटो र बाँसको घर भत्काउन बलियो र हिंस्रक बनिसकेको त्यो हात्तीलाई कुनै मिहिनेत नै गर्नु परेन। घर भत्किएसँगै भित्र सुतिरहेका सदस्यहरूबीच भागदौड र चिच्याहट सुरु भयो । खाटमा आफ्नो ४ वर्षको कान्छो छोरा भरतलाई छातीमा च्यापेर सुतेकी आशिकालाई हात्तीले आफ्नो निशाना बनायो। हात्तीले उनलाई घरको भग्नावशेषबाट थुतेर घरबाहिर निकै क्रूरतापूर्वक लछारपछार पार्न थाल्यो ।

आफ्नी श्रीमती र नाबालक छोरालाई हात्तीको सुँढ र खुट्टाको फेदमा परेर छटपटिएको देखेपछि आशिकाका श्रीमान् पूर्ण बोटेको सातो गयो । तर यस्तो भयावह अवस्थामा पनि उनले हिम्मत हार्न सकेनन् । उनले सँगै सुतिरहेकी ६ वर्षकी छोरी सिरिसालाई काखी च्यापे, ता कि कम्तीमा एउटा सन्तानलाई भए पनि बचाउन सकियोस् । पूर्णले आत्तिँदै र चिच्याउँदै हात्तीलाई धपाउने प्रयास गरे । घरमै रहेका पूर्णका दुई जना भाइहरू पनि बिउँझिएर ज्यानको बाजी लगाउँदै हात्तीलाई रोक्न र धपाउन अघि सरे । तर मात्तिएको ध्रुबे कसैको नियन्त्रण र डरमा थिएन । उसले आफ्नो हिंस्रक रूप जारी राख्यो । जब हात्तीले आशिका र भरतलाई क्षतविक्षत बनाइसक्दा पनि गाउँ छाड्न मानेन, तब अत्तालिएका र आक्रोशित बनेका पूर्णले एउटा अन्तिम र कठोर निर्णय लिए। उनले हात्तीलाई तर्साउन र धपाउनका लागि घरकै पराल र फुसको थुप्रोमा आगो सल्काइदिए। आगोको ठूलो लप्का देखेपछि मात्रै त्यो विनाशकारी हात्ती गाउँबाट निकुञ्जको दिशातिर फर्कियो। तर पूर्णले आफ्नो परिवार बचाउन लगाएको त्यो आगोले क्षणभरमै उनको आफ्नो घरलाई पनि खरानी बनाइदियो । एकातिर श्रीमती र छोराको शव आँखा अगाडि थियो भने अर्कोतिर टाउको लुकाउने ओत पनि जलेर सखाप भयो । यो दर्दनाक दृश्य देख्ने जोकोहीको पनि आँखा रसाएका छन् ।

यो घटनाको सबैभन्दा हृदयविदारक पाटो के छ भने, यो बोटे परिवारमाथि ध्रुबे हात्तीले आक्रमण गरेको यो पहिलो पटक होइन। यस परिवार र ध्रुबे हात्तीको दुःखद इतिहास १४ वर्ष पुरानो छ । पूर्ण बोटेका छिमेकी कृष्ण दवाडीका अनुसार, २०६९ साल मंसिर ३० गते चितवनकै तत्कालीन माडी गाविस–१, द्रौपदीमा बस्दै आएका पूर्णका हजुरबुबा ७१ वर्षका सोमला बोटे र ६८ वर्षीया हजुरआमा झरली बोटेको ज्यान पनि यही ध्रुवे हात्तीले नै लिएको थियो । एउटै हात्तीले १४ वर्षअघि बाजे–बज्यैको ज्यान लियो र आज आएर नातिनी बुहारी र पनातिको पनि उस्तै निर्मम तरिकाले ज्यान लियो । घरमै हात्तीले आक्रमण गरेर आमाबुबाको ज्यान लिएपछि पूर्णका बुबा शनिसरा बोटे मानसिक र शारीरिक रूपमा भत्किएका थिए ।

माडीको त्यो त्रासदीपूर्ण सम्झनाबाट टाढा रहन र आफ्ना बालबाच्चाको सुरक्षाका लागि शनिसराले आफ्ना तीन छोरा र श्रीमती मंगलीलाई लिएर जगतपुरमा बसाइँ सरेका थिए। उनीहरूले सोचेका थिए कि ठाउँ बद्लेपछि जंगली जनावरको यो आतंक र कालो छायाँबाट मुक्ति मिल्नेछ । तर नियति यस्तो क्रूर बन्यो कि बसाइँ सरेर आएको ठाउँमा पनि त्यही ध्रुबे हात्ती काल बनेर आइपुग्यो र नयाँ पुस्तालाई पनि सिध्याइदियो । जगतपुर आएपछि ७ वर्षअघि नवलपरासीकी आशिकाको पूर्णसँग विवाह भएको थियो । छिमेकी कृष्ण दवाडीका अनुसार पूर्णको परिवार अत्यन्तै सोझो, मिहिनेती र विपन्न छ। पूर्ण आफैं पनि सोझा छन् भने उनका सासुससुरा र देवरहरू पनि अझै कमाएर घर चलाउन सक्ने उमेरका भइसकेका छैनन् ।

यस्तो अवस्थामा घर व्यवहार, खेतीपाती र सम्पूर्ण जिम्मेवारी आशिकाकै काँधमा थियो । उनी परिवारको मेरुदण्ड थिइन्, जसले घरलाई उज्यालो र व्यवस्थित बनाएकी थिइन् । आमासँगै ज्यान गुमाउने ४ वर्षका भरत गाउँकै कदम आधारभूत विद्यालयमा शिशु कक्षामा अध्ययनरत थिए। उनी परिवारका कान्छा र सबैका लाडप्यारा सन्तान थिए। परिवारमा अब दुई सन्तानमध्ये ६ वर्षीया छोरी मात्र सकुशल छिन्, जसले आफ्नी आमा र भाइलाई आफ्नो आँखा अगाडि गुमाउनु पर्यो ।

छिमेकीहरूका अनुसार यदि पूर्णले समयमै बुद्धि पुर्याएर घरमा आगो नलगाएको भए, त्यस रात एउटै घरमा सुतिरहेका परिवारका आठै जना सदस्यको ज्यान जान सक्ने अवस्था थियो। हात्ती यति हिंस्रक बनेको थियो कि उसलाई मानवीय प्रयासले मात्र रोक्न असम्भव जस्तै थियो। पूर्णको त्यो आत्मघाती जस्तो देखिने निर्णयले अन्य ६ जनाको ज्यान त बचायो, तर उनको संसार नै लुटेर लग्यो । चितवन राष्ट्रिय निकुञ्ज र यसको आसपासको मध्यवर्ती क्षेत्रमा ध्रुवे हात्ती लामो समयदेखि आतंकको पर्याय बन्दै आएको छ। विशेष गरी सन् २०१२ (२०६९ साल) देखि नै यो हात्ती मानव–हात्ती द्वन्द्वको मुख्य र सबैभन्दा खतरनाक कारक बनेको छ । सोही वर्ष नेपाली सेनाका एक सिपाहीको निकुञ्ज सुरक्षाका क्रममा ज्यान लिएपछि यसको हिंस्रक स्वभाव सार्वजनिक भएको थियो । त्यसपछि निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने हजारौं स्थानीय बासिन्दा सधैं त्रसित अवस्थामा बस्न बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्जको आधिकारिक तथ्यांकलाई हेर्ने हो भने ध्रुवे हात्तीको क्रूरताको सूची निकै लामो छ। यसले सर्वसाधारणलाई मात्र होइन, सुरक्षाकर्मीहरूलाई पनि निशाना बनाएको छ । २०७४ सालमा निकुञ्जअन्तर्गत मेघौली क्षेत्रमा कार्यरत नेपाली सेनाका एक मेजरको समेत यसै हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। पछिल्लो समय शनिकार रातिको यो दुःखद घटना थपिएसँगै ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गुमाउने नेपाली नागरिकको संख्या २५ पुगेको छ। एउटै जंगली जनावरले २५ जना मानिसको ज्यान लिँदा पनि यसको दीर्घकालीन व्यवस्थापन हुन नसक्नुले राज्य र निकुञ्ज प्रशासनको लाचारीपनलाई छताछुल्ल पारेको स्थानीयको आरोप छ ।

शनिबार मध्यरातमा दुई जनाको ज्यान लिएपछि ध्रुवे अहिले कहाँ छ र कुन अवस्थामा छ भन्ने कुरामा निकुञ्ज प्रशासन नै अनभिज्ञ छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीको निश्चित लोकेसन पत्ता लाग्न सकेको छैन। यद्यपि, निकुञ्जको सुखीभार पोस्ट आसपासको बाक्लो जंगल र घोल क्षेत्रमा यो लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । पटक–पटक मान्छेको ज्यान लिने र बस्तीमा पसेर वितण्डा मच्चाउने ध्रुबेलाई नियन्त्रणमा लिने, रेडियो कद्लर जडान गर्ने वा सदाका लागि निकुञ्जबाट विस्थापित गर्ने भन्नेबारे सोध्दा सूचना अधिकारी मगरले भने, “यो गम्भीर विषय हो र मान्छेको ज्यान लिने ध्रुबेलाई के गर्ने भन्ने अन्तिम निर्णय विभाग र माथिल्लो निकायबाटै आउनु पर्छ । हामी निर्देशनको पर्खाइमा छौँ ।“ यता, जगतपुरको बोटे टोल यतिबेला शोक र आक्रोशमा डुबेको छ । गरिबी र निकुञ्जको चेपुवामा परेका बोटे समुदायका लागि वन्यजन्तुको यो आतंक दैनिक जीवनको हिस्सा जस्तै बनेको छ, तर एउटै परिवारको दुई पुस्तालाई सखाप पार्ने गरी भएको यो घटनाले उनीहरूमा असुरक्षाको भावना झनै चुलिएको छ । एकातिर आशिका र भरतको दाहसंस्कारको तयारी भइरहेको छ भने अर्कोतिर निकुञ्ज प्रशासन र सरकारले पीडित परिवारलाई उचित क्षतिपूर्ति, आवासको व्यवस्था र ध्रुबे हात्तीको तत्काल स्थायी व्यवस्थापन नगरेसम्म आफूहरू शान्त नबस्ने चेतावनी गाउँलेले दिएका छन्। प्रकृति संरक्षण र मानव अस्तित्वबीचको यो सन्तुलन कहिले मिल्ने हो, त्यसको जवाफ भने अझै कसैसँग छैन ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।