समकालीन नेपाली साहित्यमा प्रा. कपिल अज्ञात एक बहुआयामिक र निरन्तर साधनारत स्रष्टाका रूपमा परिचित छन् । अज्ञातको साहित्यिक व्यक्तित्वको आयाम कविता, गजल, मुक्तक, गीत, समालोचना, अनुसन्धान, निबन्ध, यात्रा–संस्मरण तथा सम्पादनसम्म फैलिएको देखिन्छ ।
कविताबाट साहित्यिक यात्राको आरम्भ गरेका कपिल अज्ञातले अज्ञातका कविता, निर्वात स्वरहरू, भुमरीको बतास, कविता क्षितिज जस्ता काव्यकृतिमार्फत समकालीन समाजको संवेदना, मानव मनको आन्तरिक द्वन्द्व र अनेकन मानवीय अनुभूतिलाई सरल तर गहिरो भाषामा अभिव्यक्त गरेका छन् । उनका गीत, गजल र मुक्तकहरूमा भावनात्मक घनत्वसँगै शिल्पगत सजगताको स्पष्ट उपस्थिति देखिन्छ ।
कपिल अज्ञात समालोचक र शोधकर्ता पनि हुन् । साहित्य सिर्जन प्रक्रिया, समालोचनाको सन्दर्भ, देवकोटा आयाम र प्रवृत्ति, लोकसाहित्य, प्रवृत्ति र अन्वेषण जस्ता कृतिहरूले उनलाई साहित्य सिद्धान्त र समालोचनामा पनि गहिरो पकड राख्ने लेखक रूपमा चिनाएका छन् । विशेषतः देवकोटा सम्बन्धी उनको अध्ययनलाई पाठकले प्रशंसा गरेका छन् । अज्ञातले आफ्नो समालोचनामा नेपाली साहित्यको क्लासिक परम्परा र आधुनिक चेतनालाई पनि तुलना गरेको देखिन्छ ।
निबन्ध, यात्रा–संस्मरण र आलेखमा कपिल अज्ञातको लेखन भावनात्मक र चिन्तनशील देखिन्छ । भूलहरूका विरुद्ध, समयको सुगन्ध, यात्रा अनुस्मृति, पत्र सन्देश र गम्भीर मोडमा जस्ता कृतिहरू यसका उदाहरण हुन् । अज्ञातले आफ्नो लेखनीमा समाज, समय, अध्यात्म र व्यक्तिगत अनुभूतिलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छन् । उनका निबन्धहरू उपदेशात्मक लाग्दैनन्, बरू पाठक मनलाई सोच्न बाध्य पार्ने दर्शनतिर उन्मुख देखिन्छन् ।
समग्रमा भन्नुपर्दा कपिल अज्ञात सिर्जना र समालोचनालाई समानान्तर अघि बढाउने, साहित्यलाई केवल भावुक अभिव्यक्ति नठानी बौद्धिक र सामाजिक उत्तरदायित्वको माध्यम ठान्ने लेखक हुन् । हालै उनको नयाँ पुस्तक आएको छ ‘ज्योतिष सूत्र’ । यस पुस्तकभित्र ज्योतिष शास्त्रको सैद्धान्तिक, दार्शनिक, वैज्ञानिक र अनुभवजन्य ज्ञान–परम्पराको विस्तृत चर्चा गरेको छ । वैदिक ज्योतिषीय परम्पराबाट विकसित विभिन्न पद्धतिहरूको उल्लेख गर्दै लेखकले कुनै एक विधिलाई मात्र धेरै प्राथमिकता नदिई ज्योतिषशास्त्रको बहुआयामिक प्रयोगको सन्दर्भमा अनेकौ उदाहरण दिएर विषयलाई स्पष्ट पारेका छन् ।
विशेषगरी योग, फलादेश र जीवनको सम्बन्धलाई विवेकपूर्ण र सटिक ढंगले व्याख्या गरिएको छ, साथै ज्योतिषशास्त्रीय सिद्धान्तलाई गहिरो व्याख्या गरिएको छ पुस्तकमा । कर्मको सिद्धान्तलाई जोड दिँदै, ज्योतिषशास्त्रलाई विज्ञानकै रूपमा परिभाषित गर्दै, पूर्वीय ज्ञान परम्परामा यो शास्त्रलाई एक महत्वपूर्ण विषयको रूपमा लेखकले व्याख्या गरेका छन् ।
लेखकीयमा लेखक कपिल अज्ञात लेख्छन्, ‘ज्योतिषज्ञानलाई सही रूपमा बुझ्यो भने मनै ऋषिझैँ हुन्छ अर्थात् शान्त । लोभ, अहङ्कार, क्रोध, ईर्श्या, द्वेषजस्ता दृष्प्रवृत्तिहरूले जब मनमा डेरा जमाउन पाउँदैनन्, तब बुझ्नुहोस् ज्योतिषज्ञानको सार्थकता कति उच्च र महान छ । ज्योतिषभित्रको दिव्यतालाई अनुभव गरेर नै ऋषिमनीषीहरूले ज्योतिषज्ञानलाई नेत्रको संज्ञा दिएका हुन् । देहको सर्वोच्च स्थान नेत्रलाई प्राप्त छ । सबै अङ्गहरूको पनि आ–आफ्नै महत्व छ, जब देहमा नेत्र हुँदैन, उसले रङ्गीन दुनियाँको अनुभव गर्न सक्दैन । (ज्योतिष सूत्र, पृ. छ)
१२ वटा कोठा (घर/भाव) भएको कुण्डलीमा विभिन्न भावमा बसेका ग्रहहरूले दिने फलबारे सामान्यतया ज्योतिषशास्त्रले फलादेश गर्छ । तर ज्योतिषशास्त्र फलादेश मात्रमा सीमित छैन, यो जीवन र जगतलाई बुझाउने विज्ञान जस्तै तथ्यमा आधारित रहने शास्त्र हो । ९ वटा ग्रहले भिन्नैभिन्नै फल दिन्छन्, बेग्लै बिम्बको प्रतिनिधित्व गर्छन् ।

सूर्यले जीवनमा तेजको प्रतिनिधित्व गर्छ, शुक्रले धन सम्पत्ति, प्रेम, भौतिक सुविधाको प्रतिनिधित्व गर्छ । बुध शुभ ठाउँमा बस्दा वा उच्च रहँदा जातकको वाणी मीठो हुन्छ, ऊ लेखक साहित्यकार जस्तो हुन्छ । बृहस्पतिले शुभ फल दिँदा जातक सधैं बौद्धिक र गुरुतुल्य ज्ञानले भरिपूर्ण हुन्छ । मंगलको प्रभाव साहस पराक्रमसँग सम्बन्धित छ, राहु केतुले भ्रम मात्र दिँदैनन्, कसैले अकूत सम्पत्ति कमाएको छ भने त्यो राहु केतुको प्रभाव नभई सम्भव छैन भनिन्छ । राहुलाई मायाजालसँग सम्बन्धित ग्रह मानिन्छ भने केतु सूक्ष्मज्ञानको प्रतिनिधित्व गर्ने ग्रह मानिन्छ । कपिल अज्ञातले आफ्नो पुस्तक ‘ज्योतिष सूत्र’मा नवग्रह र ग्रहहरूले निर्माण गर्ने अनेकौं बिम्बहरू विस्तृत चर्चा गरेका छन् ।
पुस्तकमा विभिन्न खण्डहरू रहेका छन् । पहिलो खण्डमा ग्रहसिद्धान्तको चर्चा गरिएको छ । दोस्रो खण्डमा ग्रहभाव फलनियमको चर्चा गरिएको छ । तेस्रो खण्डको नाम ज्योतिष सूत्र दिएर धनागमनको योगदेखि महाधनीयोगमा पञ्चम भावको भूमिकासम्मको चर्चा गरिएको छ । चौथो भागमा ज्योतिष दृष्टिकोणलाई विस्तारमा चर्चा गरिएको छ । पाचौं भाग सयौं योगहरूको संक्षिप्तमा चर्चा गरिएको छ । यसबाहेक प्रकीर्ण खण्ड, परिशिष्ट ‘क’ र ‘ख’ रहेका छन् । लामो विषयसूची हेर्दा नै थाहा हुन्छ, लेखकले ज्योतिष सम्बन्धी बहुआयामिक विषयलाई रोचक व्याख्या गर्ने प्रयत्न गरेका छन् । पुस्तकमा २३६ पेजभन्दा माथि पेज रहेको छ । मसिना अक्षर सहितका पेज भएका कारण सामान्य किताबको ३५० पेज अट्ने जति सामग्री पुस्तक रहेको अनुभूत हुन्छ ।
ज्योतिषशास्त्रको मतअनुसार राजयोग मजबुत हुन सूर्य र चन्द्रमाको शुभ फल हुनुपर्छ । सर्वाधिक शुभ फलका लागि चन्द्र र बृहस्पतिको फल उत्तम हुनुपर्छ । दाम्पत्य जीवन र प्रणय सुखका कारक शुक्र र मंगल हुन् । शनि र राहुको युक्तिले वैराग्य सिर्जना गर्छन् । सूर्यलाई सबैभन्दा श्रेष्ठ ग्रह मानिन्छ । चन्द्रमाको गुण कल्पनाप्रीय हुन्छ, शीघ्र फल दिने हुन्छ । राहुलाई यस पुस्तकमा पनि निलो रंगको विशाल सर्पझैँ भनिएको छ ।
ज्योतिषशास्त्रलाई भाग्यवादी भनिए पनि यो कर्मको सिद्धान्तमा आधारित छ । जातकले जस्तो कर्म गर्यो, उस्तै फल पाउँछ भन्ने गरिन्छ । कर्मको फल यो जन्ममा नभए पनि अर्को जन्ममा अवश्य मिल्दछ भन्ने मत ज्योतिषशास्त्रको रहेको पाइन्छ । यसैले भन्न सकिन्छ, असल कर्मका लागि ज्योतिषशास्त्रले मानिसलाई प्रेरित गरेको हुन्छ ।
पुस्तकमा लेखकले यही कुरालाई यसरी अभिव्यक्त गरेका छन्, ‘कर्म नै भाग्योन्नतिको आधार हो । व्यक्ति जतिसुकै भाग्यवान भए पनि कर्मविना कसैको भाग्योदय हुन सक्दैन । कर्म गर्दागर्दै पनि प्रतिकूल परिस्थिति निर्मित भई भाग्योदय नहुन सक्छ, तापनि मानिसले आफ्नो कर्म गर्न छोड्नु हुँदैन ।’ (ज्योतिष सूत्र, पृ. ३१)
कतिपय दार्शनिकहरूले कर्मलाई पनि ईश्वर भनेका छन् । पूर्वीय दार्शनिक परम्परामा वैदिक ज्योतिषशास्त्रलाई पुरानो विधा मानिन्छ । अहिले ज्योतिषशास्त्र विश्वविद्यालयमा अध्ययन गर्न वातावरण बनेको छ । पछिल्लो समय नयाँ पुस्ताले यो शास्त्रप्रति अगाध रूचि देखाएका छन् । तर पनि व्यवस्थित अध्ययनका लागि अहिले पनि अनेकौं अफ्ठ्यारा छन् । यस्ता अफ्ठ्याराबिच पनि विद्वानहरूले एकदमै महत्वका काम गरिरहेका छन् । प्रा. कपिल अज्ञात एक महत्वपूर्ण उदाहरण हुन् ।
ज्योतिषशास्त्रका अध्येता, अध्ययनशील विद्वान कपिल अज्ञातको यही पुस्तक पनि सानो अध्ययनले तयार भएको जस्तो लाग्दैन । पुस्तकका प्रत्येक अध्यायमा ज्योतिषशास्त्रको सैद्धान्तिक मान्यता र गहिरो दर्शन भेटिन्छन् । प्रत्येक हरफ साहित्यिक लाग्छन्, प्रत्येक अनुच्छेद पढ्दा कुनै उत्कृष्ट निबन्ध पढेको जस्तो पाठकलाई महसूस हुन्छ । कुनै पनि दर्शनलाई यति सरलीकरण गरेर बुझाउन सक्नुलाई लेखकीय खुबी नै मान्नुपर्छ । गुरु परम्परा पूर्वीय दर्शनको एउटा जीवन्त परम्परा हो । यही गुरुपरम्परालाई मान्ने लेखकले ज्योतिष सूत्र पुस्तक लेखेर वैदिक दर्शनको क्षेत्रमा महत्व राख्ने काम गरेका छन् भन्न सकिन्छ ।
बृहस्पतिलाई ज्योतिषशास्त्रमा आदरका साथ गुरु भनिन्छ । गुरुले दिने फल एकदम नै करुणामय हुने गर्छ । लेखक एक ठाउँमा यस्तो लेख्छन्, ‘राहुको दोष बुधले नाश गर्दछ । यी दुवैको दोष शनि नाश गर्दछ । राहु, बुध, शनि यी तीनको दोष मंगल नाश गर्दछ । राहु, बुध, शनि, मंगल यी चारैको दोष शुक्र नाश गर्दछ । राहु, बुध, शनि, मङ्गल, शुक्र यी पाँचैको दोष गुरु नाश गर्दछ ।’ (कपिल अज्ञात, ज्योतिष सूत्र, पृ. ५३) । यहीँनेर यी ६ वटै ग्रहको दोष चन्द्रले नाश गर्दछ भनिएको छ । हामी यही कुराबाट पनि बुझ्छौं कि बृहस्पति र चन्द्रको फल कति महत्वपूर्ण छ भनेर ।
फलित ज्योतिषका अनेकौं पद्धतिहरू छन् । तीमध्ये पराशरीय पद्धति, अष्टवक्र पद्धति, जैमनी पद्धति, कृष्णामूर्ति पद्धति, भृगु पद्धति, गयात्मक पद्धतिलाई मुख्य मानिन्छ । ज्योतिष सूत्र पुस्तकका लेखक कपिल अज्ञात एक मूलपथलाई समातेर तिनका विभिन्न शाखाहरूमा परिचित हुन सके फलादेश प्रभावकारी हुने तर्क गर्छन् ।
राहुकेतुलाई छायाँ ग्रह मानिन्छ । राहुलाई रहस्यमयी र केतुलाई मोक्षप्रीय ग्रहको रूपमा यसै पुस्तकमा पनि व्याख्या गरिएको छ । राहु केतुका विशेषता यति मात्र अवश्य होइनन्, राहु केतुको उत्पत्तिबारे पौराणिक आख्यानलाई लेखकले उल्लेख गरेका छन् । ज्योतिष सूत्र पुस्तकका लेखक लेख्छन्, ‘महाभारतको कथाअनुसार देव–दानवबिच समुद्र मन्थन आयोजना भयो । मन्थनबाट प्राप्त अमृत पान गर्ने क्रममा दानव पनि प्रशन्न रूपले अमृत पानमा शामिल भए । सुन्दरी रूपधारी विष्णुले अमृत बाँड्दै गए । देवहरूकै बिच बसी दानवले पनि अमृत पान परे । सूर्यचन्द्रले त्यसको सुइको विष्णुलाई दिए । तत्काल विष्णुले त्यस दानवको शिरच्छेदन गरिदिए । त्यसैको शिर राहु र पुच्छर केतु भयो । अमृतको प्रभाव परिसकेकाले राहुकेतुले ग्रहको स्थान पाए ।’ (कपिल अज्ञात, ज्योतिष सूत्र, पृ. १९१) । राहुकेतुको भौतिक अस्तित्व नभए पनि यिनले बलशाली प्रभाव जातकको जीवनमा पारिरहेकै छन् । राहुको प्रभावले जातकको जीवनमा छल, कपट, कुतर्क, मिथ्याभाषी र भ्रमित सोचले स्थान पाउँछ भनेर यसै पुस्तक लेखकले पनि उल्लेख्य गरेका छन्, यस्तै केतु कारक बन्दा जातकले ठेक्कापट्टा, शेयर बजार जस्ता कार्यमा अब्बलता हासिल गर्न सक्छ ।
अन्तिम अध्यायमा ग्रहनक्षेत्र योगद्वारा कला साहित्यमा प्रभाव शीर्षकमा चर्चा गरिएको छ । कस्ता मान्छेहरू कुन–कुन योग पर्दा कला साहित्यमा आकर्षित हुन्छन् भनेर चर्चा गरिएको छ । जस्तो लेखकले साराबलीबाट साभार गरेको भनाइअनुसार यदि कुण्डलीमा बुधको साथ शनि होस् त जातक ऋणी, दम्भी, प्रपन्ची, सुन्दर कवि, घुमक्कड, चतुर वा सुन्दर वाणीको हुन्छ भनिएको छ (साराबली पृ.) । कला साहित्य र योगबारे यस अध्यायमा संक्षिप्त चर्चा छ ।
प्रा. कपिल अज्ञातको बौद्धिक स्तर र पूर्वीय दर्शनमा गहिरो अध्ययनका कारण पुस्तक गुणस्तरीय बनेको छ । तर केही कमी पुस्तकमा अवश्य छन् । धेरै विषयलाई एकैपटक ल्याउन खोज्दा कतै–कतै पाठकलाई द्विविधा पर्ने देखिन्छ । कहीँ विषयको उल्लेखनीय विस्तार गर्दै रोचक चर्चा गरिएको छ भने कतै महत्व विषयमा संक्षिप्त चर्चा मात्र गरिएको छ ।
जेहोस्, ज्योतिषका जिज्ञासु र अध्येताका निम्ति पुस्तक निकै महत्व राख्ने खालको छ । सरल भाषामा सरस विषयलाई बुझाउन सक्ने लेखकको विशेषता पुस्तकमा झल्किन्छ । ज्योतिषशास्त्र जोडिएको बहुआयामिक विषयमा यति सरल ढंगले लेखिएको कमै नेपाली पुस्तकमध्ये ‘ज्योतिष सूत्र’ पनि हो भन्दा फरक पर्दैन ।
प्रक्षेपण राष्ट्रिय दनिकदेखि साभार।




































