विदेशी लगानी भित्र्याउने स्वचालित मार्गले जगाएको आशा

नेपालमा विदेशी लगानी भित्र्याउन चाहने लगानीकर्ताहरूका लागि हालसम्मको सबैभन्दा ठूलो चुनौती भनेकै प्रशासनिक झन्झट र ढिलासुस्ती हो । कम्पनी दर्तादेखि लगानी स्वीकृतिका लागि महिनौँसम्म विभिन्न मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यताले धेरै सम्भावित लगानीकर्ताहरू निरुत्साहित हुने गरेका थिए ।

अब ऊर्जामूलक, कृषि, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, सेवा र उत्पादनमूलक उद्योगहरूमा स्वचालित प्रणालीमार्फत सेवा उपलब्ध हुनुले सरकारी झन्झटबाट मुक्तिको एउटा बलियो सन्देश विश्व बजारमा पठाएको छ । यसले नेपाललाई लगानीमैत्री मुलुकको रूपमा चिनाउन मद्दत पुर्‍याउनेछ ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा विदेशी लगानीका लागि न्यूनतम सीमा हटाउनु र अन्य क्षेत्रमा पनि स्वचालित मार्गको अधिकतम सीमा खारेज गरिनु सरकारको समयसापेक्ष निर्णय हो । विशेषगरी सफ्टवेयर विकास, डाटा सेन्टर र बीपीओ जस्ता सूचना प्रविधिमा आधारित उद्योगहरूमा लगानीको सीमा नहुँदा नेपाली युवाहरूले स्वदेशमै बसेर अन्तर्राष्ट्रिय स्तरको रोजगारी पाउने ढोका खुल्नेछ । यसले बौद्धिक पलायन रोक्न र ‘डिजिटल नेपाल’को सपना साकार पार्न ठूलो योगदान दिनेछ ।

नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन र कृषिमा आधारित उद्योगहरूको प्रचुर सम्भावना छ । अटोमेटिक रुटले यी क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग गर्न बाटो प्रशस्त गरेको छ । फलफूल तथा तरकारी प्रशोधन, जडीबुटी प्रशोधन र पशु चिकित्सा जस्ता साना तथा मझौला उद्योगदेखि सिमेन्ट, रासायनिक मल र नवीकरणीय ऊर्जा जस्ता ठूला उद्योगसम्ममा विदेशी प्रविधि र पुँजी भित्रिँदा स्वदेशी कच्चा पदार्थको मूल्य अभिवृद्धि हुनेछ । यसले आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गरी मुलुकको व्यापार घाटा कम गर्न समेत मद्दत पुर्‍याउनेछ ।

रोजगारी सिर्जनाको दृष्टिकोणले पनि स्वचालित मार्ग निकै आशालाग्दो छ । उत्पादनमूलक ४१ वटा क्षेत्र र सेवामूलक २३ वटा क्षेत्रमा विदेशी लगानी आउँदा हजारौँ दक्ष र अर्धदक्ष जनशक्तिले आफ्नै देशमा काम पाउनेछन् । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पसिना बगाउन जानुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै उद्योगधन्दा खुल्नु अनिवार्य छ । विदेशी लगानीले केवल पैसा मात्र ल्याउँदैन, बरु नयाँ प्रविधि, सीप र व्यवस्थापकीय कौशल पनि सँगै ल्याउँछ, जसले नेपाली श्रम बजारको गुणस्तर सुधार्न मद्दत गर्छ ।

यद्यपि नीति र नियम बनाउनु मात्र पर्याप्त छैन । विगतमा पनि धेरै नीतिहरू कागजमा उत्कृष्ट भए पनि कार्यान्वयनमा फितलो देखिएका छन् । स्वचालित मार्गलाई वास्तविक रूपमै स्वचालित बनाउन डिजिटल पूर्वाधारको सुदृढीकरण र नोकरशाही मानसिकतामा परिवर्तन आउनु आवश्यक छ । लगानी भित्रिएपछिको सुरक्षा, मुनाफा फिर्ता लैजाने प्रक्रियाको सरलीकरण र नीतिगत स्थिरताको सुनिश्चितता नभएसम्म लगानीकर्ताहरू पूर्ण रूपमा ढुक्क हुन सक्दैनन् ।

लगानी भित्र्याउने नयाँ मार्गले मुलुकको आर्थिक समृद्धिको बाटोलाई केही हदसम्म सुगम बनाएको छ । सरकारले नयाँ नीति ल्याउँदा निजी क्षेत्र र अन्य सरोकारवाला निकायले पनि यसलाई सकारात्मक रूपमा लिई सहकार्य गर्नुपर्छ । उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गर्दै रोजगारी र आय वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्वचालित व्यवस्था एउटा महत्वपूर्ण प्रस्थानविन्दु बन्न सक्छ । स्वचालित मार्गको प्रभावकारी कार्यान्वयन भयो भने नेपाल आकर्षक लगानी गन्तव्य बन्नेमा दुईमत छैन ।

मिति २०८२ फागुन १० गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।