नेपालको राजनीतिक इतिहासमा शपथ ग्रहण समारोह प्रायः एउटा औपचारिक र संवैधानिक विधिमा सीमित हुने गरेको थियो । तर नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले पदभार ग्रहणका क्रममा अपनाएको शैली र स्वरूपले आधुनिक राजनीतिमा सांस्कृतिक लगाव र भावनात्मक एकताको नयाँ भाष्य स्थापित गरिदिएको छ ।
छातीमा किराती पहिचानको ‘सिःलाम साक्मा’, वरिपरि शंखनाद गर्ने बटुकहरू र मन्त्रोच्चारण गर्ने बौद्ध भिक्षुहरूको उपस्थितिको दृश्यले केवल एउटा व्यक्ति प्रधानमन्त्री बनेको मात्र जनाउँदैन, बरु नेपालको बहुआयामिक र बहुसांस्कृतिक पहिचान झल्काएको छ ।
प्रधानमन्त्री बालेनले पहिरनमा सिःलाम साक्मा सजाउनु फेसन होइन, लिम्बू संस्कृतिमा मृत्युको बाटो छेक्नु वा अशुभबाट जोगिनु भन्ने अर्थ बोक्ने प्रतीकको प्रयोगले पूर्वी पहाडका किराती समुदायप्रति राज्यको सर्वोच्च कार्यकारीले देखाएको उच्च सम्मानलाई झल्काउँछ । निर्वाचनपछि दलभित्र किराती समुदायको प्रत्यक्ष प्रतिनिधित्व नदेखिएको भन्दै उठेका आलोचनाहरूलाई उनले कुनै राजनीतिक भाषणबाट होइन, बरु एउटा शक्तिशाली सांस्कृतिक चिह्नमार्फत शान्त तुल्याउने प्रयास गरेका छन् ।
शपथ ग्रहण समारोहमा एकातिर वैदिक विधिअनुसार शंखनाद र बटुकहरूबाट मन्त्रोच्चारण हुनु र अर्कोतिर बौद्ध भिक्षुहरूले शान्तिको प्रार्थना गर्नुले नेपालको प्राचीन हिन्दू–बौद्ध सहअस्तित्वको दर्शनलाई पुनर्जीवित गरेको छ । बालेनले प्रधानमन्त्रीका रूपमा शपथ लिँदा अपनाएको शैलीले उनी कुनै एउटा घेरामा मात्र सीमित छैनन् भन्ने देखाउँछ ।
उनले मुकुमलुङ (पाथिभरा) देखि खुवालुङसम्म र सुदूरपश्चिमको देउडादेखि मधेशको माटो हुुँदै काठमाडौँको रैथाने नेवाः संस्कृतिसम्म जुन प्रकारको भावनात्मक साइनो गाँसेका छन्, त्यसको झल्को शपथ ग्रहणमा थप प्रस्ट देखिएको छ ।
नेपालजस्तो जातीय, भाषिक र सांस्कृतिक विविधता भएको देशमा नेतृत्वले सबै समुदायमा अपनत्व महसूस गराउन सक्नु नै सबैभन्दा ठूलो सफलता हो । बालेनले सांस्कृतिक मनोविज्ञानलाई गहिरोसँग बुझेका छन् भन्ने कुरा उनले विगतमा सुदूरपश्चिम पुग्दा व्यक्त गरेको ‘झिकै झिकै माया’ र मधेशमा स्थानीय भाषामा गरेको संवादले पनि पुष्टि गर्छ ।
राजनीति केवल नीति–नियमको संग्रह मात्र होइन, नागरिकको मुटुसँग जोडिने कला पनि हो । बालेनको सांस्कृतिक साइनोले उनी केवल काठमाडौँका मेयरबाट प्रधानमन्त्री बनेका प्राविधिक नेता मात्र नभई समग्र नेपालको साझा भावनाको प्रतिनिधित्व गर्न खोजिरहेका सांस्कृतिक प्रधानमन्त्रीका रूपमा उदाएका छन् ।
जब देशको प्रधानमन्त्रीले कुनै समुदायको चिह्नलाई गर्वका साथ छातीमा सजाउँछ, त्यसले वर्षौँदेखि किनारीकृत महसूस गरिरहेका नागरिकमा राज्यप्रति अपनत्व र आत्मबल बढाउँछ । प्रधानमन्त्री बालेनका अगाडि अब यी सांस्कृतिक संकेतहरूलाई नीतिगत व्यवहारमा रूपान्तरण गर्ने चुनौती छ । उनले देखाएको सांस्कृतिक सद्भाव केवल समारोहको चमकधमकमा मात्र सीमित हुनु हुँदैन ।
किराती, दलित, मधेशी, थारु र अन्य पिछडिएका समुदायको पहिचानलाई संविधानको अक्षर र भावना अनुसार राज्यका संरचनाहरूमा समान अवसर र प्रतिनिधित्व सुनिश्चित गर्न सके मात्र सांस्कृतिक लगावले सार्थकता पाउनेछ । संस्कृतिसँग जोडिएको साइनोले नागरिकको भरोसा जितेको छ, अब भरोसालाई सुशासन र विकासको मार्गमा डोर्याउनु नै नयाँ सरकारको मुख्य अग्निपरीक्षा रहेको छ ।
मिति २०८२ चैत १४ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।
































