ज्ञानकुप, विद्याकुप र शतानन्दकुप : आस्था, इतिहास र लोकविश्वासको सङ्गम

मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका ३ प्राचीन कूप (इनार) यतिबेला पनि स्थानीयवासी, श्रद्धालु तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेका छन् ।

ज्ञानकुप, विद्याकुप र शतानन्दकुप नामले परिचित यी ३ कूपलाई धार्मिक आस्था, पौराणिक मान्यता तथा लोकविश्वाससँग जोडेर हेरिँदै आएको छ ।

जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरसँग निकट सम्बन्ध रहेको विद्यालय केवल शैक्षिक संस्था मात्र नभई धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा समेत परिचित छ । विद्यालय परिसरमा रहेका ३ वटै कूपबारे विभिन्न धार्मिक ग्रन्थ, स्थानीय किंवदन्ती तथा जनश्रुतिहरू पाइन्छन् । स्थानीयवासी तथा जानकी मन्दिरका महन्तहरूका अनुसार यी कूपहरूको इतिहास पौराणिक कालसँग जोडिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार पौराणिककालदेखि नै सो स्थानमा कूपहरूको अस्तित्व रहेको मानिन्छ । मिथिला परम्परामा माता सीताले अध्ययन गरेको स्थलका रूपमा परिचित यस क्षेत्रमै ३ वटा कूप उत्पन्न भएको धार्मिक विश्वास छ ।

‘सीताजीले अध्ययन गर्ने क्रममा यस परिसरमा ज्ञान, विद्या र आध्यात्मिक उन्नतिसँग सम्बन्धित तीन कूप प्रकट भएका हुन् भन्ने जनविश्वास रहिआएको छ,’ उनले भने । उनका अनुसार ज्ञानकुप, विद्याकुप र शतानन्दकुप केवल पानीका स्रोत मात्र नभई मिथिलाको सांस्कृतिक चेतना र अध्यात्मिक परम्पराका प्रतीक हुन् । पुस्तौँदेखि स्थानीय समाजले ती कूपहरूलाई श्रद्धापूर्वक संरक्षण गर्दै आएको छ ।

ज्ञान प्राप्तिको प्रतीक मानिने ज्ञानकुप

३ कुपमध्ये ज्ञानकुपलाई विशेष महत्वका साथ हेरिन्छ । धार्मिक मान्यताअनुसार ज्ञानको अभाव भएका व्यक्तिले ज्ञानकुपको पानीले स्नान गर्ने वा थोरै मात्रामा सेवन गर्ने गरेमा वौद्धिक विकास र ज्ञान प्राप्तिमा सहयोग पुग्ने विश्वास छ । स्थानीय जानकारहरूका अनुसार विगतमा विद्यार्थी तथा साधुसन्तहरूले अध्ययन आरम्भ गर्नुअघि ज्ञानकुपमा पूजा गर्ने परम्परा रहेको थियो । यस कूपको पानीलाई ज्ञान, विवेक र आध्यात्मिक चेतनासँग जोडेर हेरिन्छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रका अध्येताहरूका अनुसार यस्ता विश्वासहरू समाजमा शिक्षा र ज्ञानप्रतिको सम्मान अभिवृद्धि गर्ने उद्देश्यले विकसित भएका हुन सक्छन् । यद्यपि यसको वैज्ञानिक पुष्टि नभए पनि स्थानीय समाजमा यसप्रतिको आस्था अझै बलियो रहेको छ ।

विद्याकुपको धार्मिक महत्व

विद्यालय परिसरमा रहेको अर्को कूप विद्याकुप हो । नामअनुसार नै यसलाई विद्या प्राप्तिसँग जोडेर हेरिन्छ । धार्मिक ग्रन्थ तथा स्थानीय मान्यतामा विद्याकुपको विशेष चर्चा पाइन्छ । स्थानीयवासीका अनुसार विद्यार्थीहरूले परीक्षा, अध्ययन वा संस्कृत शिक्षा प्रारम्भ गर्नुअघि विद्याकुपमा पूजा–आराधना गर्ने चलन रहिआएको छ । यस कूपको पानीले मानसिक एकाग्रता र अध्ययनप्रति रुचि बढाउने धार्मिक विश्वास रहेको बताइन्छ । जानकारहरूका अनुसार मिथिला क्षेत्र शिक्षा र विद्वत परम्पराका लागि प्रसिद्ध रहँदै आएको छ । विद्याकुपलाई त्यही गौरवशाली परम्पराको एक प्रतीकका रूपमा लिइन्छ ।

दुःख निवारणसँग जोडिएको शतानन्दकुप

तेस्रो कूप शतानन्दकुप हो । स्थानीय जनविश्वास अनुसार यस कूपको पानी सेवन गर्दा विभिन्न प्रकारका दुःख, कष्ट तथा मानसिक पीडाबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ । धार्मिक कथनअनुसार शतानन्दजी माता सीताका गुरु थिए । मिथिला सभ्यता र वैदिक ज्ञान परम्परामा उहाँको महत्वपूर्ण स्थान रहेको उल्लेख पाइन्छ । शतानन्दकुपको नामकरण पनि उहाँकै नामबाट भएको जनविश्वास छ । स्थानीय श्रद्धालुहरू विशेष अवसरमा शतानन्दकुपमा पूजा गर्दै मनोकामना माग्ने गर्दछन् । धेरैले यसलाई अध्यात्मिक शान्ति प्राप्त गर्ने स्थलका रूपमा लिने गरेका छन् ।

धार्मिक सम्पदा संरक्षणको आवश्यकता

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले यी ३ वटै कूप मिथिलाको धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएका महत्वपूर्ण सम्पदा भएको बताए । उनका अनुसार कूपहरू केवल धार्मिक विश्वासका विषय मात्र नभई प्राचीन इतिहासका जीवित प्रमाण पनि हुन् । ‘यी सम्पदाको संरक्षण, प्रवद्र्धन र अध्ययन आवश्यक छ । आगामी पुस्ताले मिथिलाको मौलिक इतिहास बुझ्न यस्ता धरोहर महत्वपूर्ण आधार बन्न सक्छन्,’ उनले भने । उनले स्थानीय तह, पुरातत्वविद् तथा सम्बन्धित निकायले कूपहरूको ऐतिहासिक अध्ययन गरी व्यवस्थित संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

शैक्षिक इतिहाससँग जोडिएको विद्यालय

श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले विद्यालय मिथिलाको प्राचीन शैक्षिक परम्पराको प्रतिनिधित्व गर्ने संस्थामध्ये एक रहेको बताए । उनका अनुसार विद्यालय स्थापना भएको लामो इतिहास रहेको छ । संस्कृत शिक्षा प्रवद्र्धनमा विद्यालयले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । ‘विद्यालय परिसरमा रहेका ज्ञानकुप , विद्याकुप र शतानन्दकुपले यस संस्थाको धार्मिक तथा ऐतिहासिक महत्व अझ बढाएका छन्,’ उनले भने । उनका अनुसार विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी, अभिभावक तथा आगन्तुकहरू ३ वटै कूपबारे जानकारी लिन उत्सुक हुने गरेको छ ।

ऋषिमुनिको पालादेखिको अस्तित्व रहेको विश्वास

विद्यालयका पूर्वविद्यार्थी तथा हाल सहायक प्राध्यापक सोमनाथ भट्टराईले विद्यालयको स्थापना १९६६ सालमा भएको जानकारी दिए । उनका अनुसार विद्यालयको औपचारिक स्थापना त्यस समयमा भए पनि कूपहरूको इतिहास अझ प्राचीन रहेको जनविश्वास छ । ‘स्थानीय मान्यताअनुसार यी कूपहरूको अस्तित्व ऋषिमुनिको पालादेखि रहँदै आएको हो,’ उनले भने । उनका अनुसार विद्यालयको इतिहास र कूपहरूको पृष्ठभूमिबारे थप अनुसन्धान आवश्यक छ । उनले धार्मिक विश्वास र ऐतिहासिक तथ्यलाई सन्तुलित ढंगले अध्ययन गरी दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका पूर्वविद्यार्थी तथा स्थानीयवासी अवधेश पोखरेलले बाल्यकालदेखि नै ३ वटै कूपप्रति स्थानीय समाजमा गहिरो श्रद्धा रहेको बताए । उनका अनुसार विभिन्न पर्व, उत्सव तथा धार्मिक अवसरमा श्रद्धालुहरू कूपको दर्शन गर्न आउने गरेका छन् । ‘हामीले सानैदेखि यी कूपको महत्वबारे सुन्दै आएका छौँ । स्थानीय समाजको सांस्कृतिक जीवनसँग यी कूप अभिन्न रूपमा जोडिएका छन्,’ उनले भने ।
साहित्यकार तथा जानकार डा. राजेन्द्र विमलले ज्ञानकुप, विद्याकुप र शतानन्दकुप मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक अध्ययनका दृष्टिले महत्वपूर्ण विषय भएको बताउँछन् । उनका अनुसार मिथिलामा शिक्षा, दर्शन र धार्मिक चिन्तनको लामो परम्परा रहेको छ । ‘३ वटै कूपले त्यही ज्ञान परम्पराको प्रतिनिधित्व गर्छन् । यिनको अध्ययनले मिथिलाको बौद्धिक इतिहास बुझ्न सहयोग पुग्न सक्छ,’ उनले भने । उनले स्थानीय किंवदन्ती, धार्मिक ग्रन्थ र ऐतिहासिक स्रोतलाई एकीकृत गरेर अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए ।

पुस्तौँदेखि सुनिदै आएको जनश्रुति

स्थानीय ७० वर्षीय मोहन उपाध्यायले आफूले बाल्यकालदेखि नै ३ वटै कुपबारे विभिन्न धार्मिक कथा सुन्दै आएको बताए । उनका अनुसार विगतमा भारतको टाढाटाढाबाट श्रद्धालुहरू कूपको दर्शन गर्न आउने गर्थे । ‘ज्ञानकुपको पानीले ज्ञान बढ्छ, विद्याकुपले अध्ययनमा सफलता दिन्छ र शतानन्दकुपले दुःख हटाउँछ भन्ने विश्वास समाजमा व्यापक थियो,’ उनले भने । ६५ वर्षीय रामदेव यादवले पनि कूपहरू मिथिलाको धार्मिक जीवनसँग गहिरो रूपमा जोडिएको बताए । उनका अनुसार समयसँगै धेरै परिवर्तन आए पनि स्थानीयको आस्था भने यथावत् रहेको छ ।
स्थानीय ६७ वर्षीया रामकुमारी रायले ३ वटै कूपलाई धार्मिक आस्थाको केन्द्रका रूपमा लिने गरेको बताए । उनका अनुसार विशेष पूजा तथा व्रतका अवसरमा महिलाहरू कूपमा पुगेर पूजा–आराधना गर्ने चलन रहिआएको छ । ‘हामीले पुर्खादेखि यी कूपको महत्व सुन्दै आएका छौँ । यहाँ आएपछि मनमा शान्ति मिल्छ,’ उनले भने ।

पर्यटन प्रवद्र्धनको सम्भावना

स्थानीय सरोकारवालाहरूका अनुसार उचित प्रचारप्रसार, संरक्षण र व्यवस्थापन हुनसके यी कूप धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्य बन्न सक्छन् । जनकपुरधाम आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मिथिलाको प्राचीन शैक्षिक र धार्मिक परम्पराबारे जानकारी गराउन पनि यी कूप उपयोगी हुन सक्छन् । विशेषगरी जानकी मन्दिर दर्शनका लागि आउने श्रद्धालुहरूलाई विद्यालय परिसरमा रहेका कूपहरूको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराउने व्यवस्था गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

जनकपुरधामस्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका ज्ञानकुप , विद्याकुप र शतानन्दकुप मिथिलाको धार्मिक आस्था, सांस्कृतिक चेतना तथा शैक्षिक परम्पराका महत्वपूर्ण प्रतीकका रूपमा रहेका छन् । यिनको उत्पत्तिबारे विभिन्न धार्मिक विश्वास, जनश्रुति तथा पौराणिक कथन प्रचलित भए पनि यी कूपले स्थानीय समाजमा विशेष महत्व राख्दै आएका छन् । ज्ञान, विद्या र आध्यात्मिक शान्तिसँग जोडिएका यी ३ वटै कूप केवल धार्मिक आस्थाका केन्द्र मात्र नभई मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा समेत महत्वपूर्ण छन् । तिनको संरक्षण, अध्ययन तथा प्रवद्र्धनमार्फत आगामी पुस्तालाई मिथिलाको समृद्ध परम्पराबारे जानकारी गराउन सकिनेछ ।