सगरमाथाको छायामा ‘माउन्टेन बाइकिङ’

हिमालयमा माउन्टेन बाइक चढेर तीव्रगतिमा ओरालो झरिरहँदा म निकै रोमाञ्चित थिएँ । मेरो सास अलि अलि फुलिरहेको थियो भने मनको एउटा कुनामा डर पनि थियो, कतै जङ्गलको बिचबाट चौंरी र गाईको वर्णशंकर प्रजाति ‘झो’ अचानक मेरो बाटोमा त आउँदैन ?

‘आफ्नो नजर अगाडि राख, ब्रेकमा विश्वास गर र ट्रेलले जता लैजान्छ त्यतै बग्दै जाऊ,’ सोलुखुम्बु जिल्लाको घुमाउरो कच्ची बाटोमा मेरो अगाडि साइकल चलाइरहेकी मिङमार याङ्जी शेर्पाले भनिन् ।

एउटा घाँसे मैदान भएको डाँडाको टुप्पोमा पुगेपछि हामी रोकियौँ, जहाँबाट टाढा–टाढासम्मका अनगिन्ती हिमशृंखलाहरू देखिन्थे । ‘यहाँ माउन्टेन बाइकिङ गर्दा पर्यटकहरूले पदयात्राका पुराना मार्गहरूभन्दा बाहिर गएर अन्वेषण गर्न सक्छन्, स्थानीय जनजीवनलाई नजिकबाट हेर्न सक्छन् र साँचो अर्थमा साहसिक अनुभव लिन सक्छन्,’ उनले भनिन्, ‘यो ती व्यक्तिहरूका लागि उत्तम छ, जो केवल दृश्य हेर्न मात्र चाहँदैनन्, बरु यहाँको माटो र संस्कृतिलाई महसूस गर्न, होमस्टेको अनुभव लिन र ४ हजार ६० मिटरको उचाइसम्म साइकल चलाउने स्वतन्त्रता चाहन्छन् ।’
नेपाल आफ्नो माउन्टेन बाइकिङका लागि भन्दा हिमालहरूका लागि बढी परिचित छ । तर विश्वकै प्रसिद्ध शिखर सगरमाथाको आँखै अगाडि एउटा सानो शहर फाप्लुमा जनस्तरबाट एउटा यस्तो अभियान सुरु भइरहेको छ, जसले पर्यटकहरूलाई हिमालयको अनुभव नयाँ तरिकाले गराउन र स्थानीय शेर्पा समुदायलाई सशक्त बनाउन मद्दत गरिरहेको छ ।

सगरमाथा आरोहणका कीर्तिमान र त्यहाँको भीडभाडका समाचारहरू प्रायः मुख्य शीर्षकमा आउँछन् तर एउटा व्यापक वास्तविकतामा भने कमैको ध्यान जान्छ । धेरै नेपालीहरू (सिजनमा गाइड र भरियाका रूपमा काम गर्ने शेर्पाहरू पनि पर्छन्‌) वर्षभरिको स्थिर आम्दानी सुनिश्चित गर्न संघर्ष गर्छन् । शेर्पा गाइडहरूले २ महिनाको आरोहण सिजनमा करीब ५ लाख ८८ हजारदेखि १७ लाख ६५ हजार रुपैयाँसम्म कमाउन सक्छन् । नेपाली मापदण्डअनुसार यो कमाइ राम्रो देखिए पनि सोही खतरनाक कामका लागि अन्तर्राष्ट्रिय अपरेटरहरूले नियुक्त गरेका विदेशी गाइडहरूले कमाउने रकमको तुलनामा यो निकै थोरै हो ।

गरीबी निवारणका लागि काम गर्ने संस्था ‘द बोर्जेन प्रोजेक्ट’का लागि लरेन म्याककेन्नाले लेखेकी छिन्, ‘अपरिहार्य योगदानको बाबजुद पनि शेर्पाहरू प्रायः आर्थिक रूपमा पछि परेका हुन्छन् । महंगो पर्वतारोहण अभियानहरूबाट अभियानका नेताहरू र एड्भेन्चर कम्पनीहरूले ठूलो आर्थिक लाभ लिँदा शेर्पाहरूले भने आफ्नो कठिन परिश्रमको लागि न्यून पारिश्रमिक मात्र पाउँछन् ।’

यही पृष्ठभूमिलाई मध्यनजर गर्दै नाफारहित संस्था ‘फाप्लु माउन्टेन बाइक क्लब’ले यस क्षेत्रका नाटकीय पहाड र स्वच्छ वनहरूले कुलीन आरोहीहरूलाई मात्र नभई अरू धेरैलाई आकर्षित गर्न सक्छन् भन्नेमा दाउ लगाएको छ । क्लबले सामुदायिक वनद्वारा व्यवस्थित रत्नङ्गे वन क्षेत्रमा ७० किलोमिटर लामो १७ वटा (सुरुआतीदेखि विशेषज्ञ स्तरसम्मका) ट्रेलहरूको सञ्जाल विकास गरेको छ । यसको उद्देश्य स्थानीय युवा शेर्पाहरूले आफैं डिजाइन गर्ने, नेतृत्व गर्ने र स्वामित्व लिने गरी स्थानीय रोजगारी सिर्जना गर्नु हो ।

सन् २०२० मा हस्पिटालिटी निर्देशक आङ छिरिङ लामा र फ्रान्सेली पूर्व–प्रोफेसनल माउन्टेन बाइक रेसर ताङ्गी रेबोर्सद्वारा स्थापना गरिएको क्लबले विभिन्न टुर अपरेटरहरूसँग सहकार्य गर्दै नयाँ र अनुभवी दुवै किसिमका साइकल यात्रीहरूलाई नेपालको यस उत्तर–पूर्वी कुनामा ल्याउने काम गर्छ । सन् २०२३ मा यसले वार्षिक ‘इन्ड्यूरो रत्नङ्गे’ दौड सुरु गर्‍यो, जुन डिसेम्बर महिनामा हुने ४ दिने कार्यक्रम हो र यसले अहिले अन्तर्राष्ट्रिय पेशेवर खेलाडीहरूलाई पनि आकर्षित गरिरहेको छ । ट्रेलहरू विकास हुँदै जाँदा, लामा र रेबोर्सले शेर्पा परिवारहरूलाई होमस्टे खोल्न प्रोत्साहित गरेका छन्, जसले गर्दा आगन्तुकहरू स्थानीय संस्कृतिमा भिज्न सकून् । साइकल यात्रीहरू लामाको परिवारको स्वामित्वमा रहेको भव्य १०–कोठे ‘ह्याप्पी हाउस’ लजमा पनि बस्न सक्छन्, जुन कुनै समय पौराणिक आरोही सर एडमन्ड हिलारीको प्रिय बासस्थान थियो ।

‘मलाई सोलुखुम्बुमा माउन्टेन बाइकिङ गर्न निकै मन पर्छ,’ मिङमार भन्छिन्, जसले ह्याप्पी हाउसका गतिविधिहरू पनि व्यवस्थापन गर्छिन् । ‘यहाँको हावा स्वच्छ छ, मानिसहरू न्यानो छन् र यहाँको भू–बनोट प्राकृतिक रूपमै निकै सुन्दर र जङ्गली छ । यहाँ तपाईं विश्वका केही ठूला हिमालहरूले घेरिएर चिल्लो बाटोदेखि जराहरूले भरिएको कठिन ओरालोसम्मको मज्जा लिन सक्नुहुन्छ ।’

माउन्टेन बाइकिङका पारखीहरू धेरै दशकदेखि नेपालमा यस खेलको सम्भावनाबारे सचेत थिए । सन् २००३ मा रेबोर्सले ‘इन्ड्यूरो एमटीबी नेपाल’को सहस्थापना गरेका थिए, जसले मुस्ताङदेखि सोलुखुम्बुसम्म विभिन्न क्षेत्रमा १४ दिने माउन्टेन बाइकिङ ट्रिपहरूको नेतृत्व गर्छ । तर हालैका वर्षहरूमा फाप्लुमा बढ्दो यस क्षेत्रले म जस्ता नयाँ र जिज्ञासुहरूलाई आकर्षित गरिरहेको छ ।

काठमाडौँमा २ रात बिताएपछि म ४५ मिनेटको चार्टर उडानमार्फत फाप्लु पुगेँ । त्यहाँ म ह्याप्पी हाउसको फराकिलो कोठामा बसेँ र दिउँसो नेपाली स्वामित्वको ‘बियोल एक्सपेरियन्सेस’मार्फत माउन्टेन बाइकिङका आधारभूत कुराहरू सिकेँ । ‘सगरमाथाको लोकप्रियताका कारण हामी सधैँ छायामा पर्दै आएका थियौँ,’ लामाले मसँग कुरा गर्दै भने । ‘तर माउन्टेन बाइकिङ जस्ता परियोजनाहरूले समुदायलाई बलियो बनाउन ठूलो सम्भावना बोकेका छन् ।’

हिमालयन ट्रस्ट र द कन्सस ट्राभल फाउन्डेसन लगायतका संस्थाहरूको सहयोगमा क्लबले माउन्टेन बाइकहरू प्राप्त गरेको छ, नयाँ प्राक्टिस ट्रयाक बनाएको छ र अहिले स्थानीय युवाहरूलाई बाइक मर्मतदेखि प्राथमिक उपचारसम्मका सबै कुराहरू सिकाइरहेको छ । साथै उनीहरूलाई विदेशी पर्यटकहरूका लागि गाइड कसरी बन्ने भनेर पनि तालिम दिइँदैछ ।

दिउँसो म ट्रयाकतिर गएँ र स्थानीय केटाहरूको समूहलाई ट्रयाकमा साइकल चलाउँदै गरेको देखेँ । त्यहाँ १७ वर्षीय अजय कुलुङ पनि थिए । ‘मलाई यहाँको प्रकृतिमा रमाउन मन पर्छ,’ उनले भने, ‘पहाडको टुप्पोबाट धेरै कुराहरू देख्न सकिन्छ ।’ मेरो पछाडि १९ वर्षीया मनिषा विक अरूलाई हेरिरहेकी थिइन्, केहीबेरपछि उनी पनि साइकलमा चढेर मज्जा लिन थालिन्।

‘युवाहरूका लागि यहाँ विकासको ठूलो सम्भावना छ,’ लामा भन्छन्, ‘यदि तपाईंले माउन्टेन बाइक गाइडको रूपमा काम सुरु गर्नुभयो भने, तपाईंले दिनको २० डलर वा सोभन्दा बढी कमाउन सक्नुहुन्छ … आगामी पुस्ताहरू टुरिङ कम्पनी चलाउने उद्यमी, पसले वा मेकानिक्स बन्न सक्छन्, यो देशमा पेशेवर एमटीबी मेकानिक्सहरूको ठूलो माग छ ।’

विश्वव्यापी रूपमा माउन्टेन बाइकिङ १२.६ बिलियन डलरको उद्योग हो र सन् २०३२ सम्ममा यो दोब्बर हुने अनुमान छ । नेपालको आकर्षण यहाँको नयाँदेखि अनुभवीसम्मका लागि उपयुक्त ट्रेलहरू, मध्यम मौसम र राम्रो भूबनोटमा छ । ‘यहाँको माटो गुणस्तरीय छ, जङ्गलको माटो स्वास्थ्य र पकडका लागि राम्रो छ,’ रेबोर्स भन्छन्, ‘यहाँ वर्षको १०–११ महिना साइकल चलाउन सकिन्छ ।’ रत्नङ्गे वनको उच्च उचाइ (३ हजार २८० मिटर) ले यसलाई थप आकर्षक बनाएको छ । यहाँ साइकल चलाउँदा खेलाडीहरूलाई आवश्यक पर्ने सहनशक्ति बढाउन मद्दत पुग्छ ।

एक बिहान म रत्नङ्गे डाँडाको टुप्पोमा रहेका ट्रेलहरू हेर्न साढे ३ घण्टाको पैदल यात्रामा निस्किएँ । वसन्त ऋतुको गर्मीमा सल्लाको सूइँ र भूइँमा झरेका गुराँसका फूलहरूले बाटो निकै सुन्दर देखिन्थ्यो । धेरै ट्रेलहरू पुर्खौंदेखि गोठाला र किसानहरूले प्रयोग गर्दै आएका पुराना गोरेटोहरू हुन् । लामा र रेबोर्सका अनुसार यहाँ बढ्दो माउन्टेन बाइकिङले अवैध काठ कटानी र शिकारलाई पनि निरुत्साहित गरेको छ ।

भोलिपल्ट म केही ट्रेलहरूको फेदमा रहेको गारीखासा गाउँमा विदेशी पाहुनाहरूका लागि होमस्टे खोलेका स्थानीयहरूलाई भेट्न गएँ । मेरो पहिलो भेट आङबाबु शेर्पा, उनकी श्रीमती ङिमा र छोरी पाशीसँग भयो ।

ङिमाले मलाई तातो चियाले स्वागत गरिन् र धेरै पाहुनाहरूले उनले पकाएको परम्परागत शेर्पा खाना श्याक्पा (सूप), पालुङ्गो, मासु र मकैको मिश्रण; आलुको तरकारी, दाल र आफ्नै गाईको दूधबाट बनाएको चिज निकै मन पराएको गर्वका साथ सुनाइन् । ‘सुरुमा त मलाई उनीहरूले मेरो खाना मन पराउँदैनन् कि भन्ने डर लागेको थियो,’ उनले भनिन्, ‘तर उनीहरूले सबै खाइदिए र अर्को रेसको लागि फेरि म कहाँ आउने वाचा गरे । यहाँ बस्ने सबैले मलाई ‘मम्मी’ भनेर बोलाउँछन् ।’

त्यसपछि मैले दावा शेर्पालाई भेटेँ, जो काठमाडौंबाट फर्केर अहिले क्लबको लजिस्टिक व्यवस्थापनमा सहयोग गर्छन् र आफ्नै होमस्टे पनि चलाउँछन् । दावाको लक्ष्य आफ्नो परिवारलाई यही क्षेत्रमा स्थायी रूपमा राख्ने र आफ्ना साना बच्चाहरूको भविष्य सफल बनाउने हो । ‘म मेरा छोराछोरीहरू यहीँ बसेर काम गरून् र राम्रो कमाइ गरून् भन्ने चाहन्छु,’ उनले भने, ‘यो शान्त ठाउँ हो ।’

सगरमाथा अझै पनि यस क्षेत्रमा भौतिक र आर्थिक रूपमा हाबी छ । तर फाप्लु क्लबको विस्तारसँगै, धेरै पर्यटक र युवा शेर्पाहरूको ध्यान अब शिखरबाट हटेर यी ट्रेलहरूतिर मोडिन थालेको छ । हिमालयको यो शान्त कुनामा अहिले एक फरक प्रकारको साहसिक यात्राले आकार लिइरहेको छ । (बीबीसी ट्राभलबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।