हिउँदयाम सकिएर सुक्खायाम सुरु हुनै लाग्दा आगलागी र डढेलोको संकट बढ्दै जान्छ । नेपालका डढेलो जोखिमयुक्त जिल्लामध्ये चितवन पनि एक हो, जहाँ बरण्डाभार जस्तो वन्यजन्तुको महत्वपूर्ण बासस्थान र जैविक करिडोर छ ।
सुक्खायाममा वनमा झर्ने सालका पात र फैलिँदै गएका मिचाहा प्रजातिका झारहरू चाँडै सुक्ने र थोरै लापरवाहीले पनि ठूलो डढेलोको रूप लिन्छ । यस्तो अवस्थामा डिभिजन वन कार्यालय चितवनले अग्निरेखा निर्माण, सडक आसपासको झाडी सफाइ र अग्नि नियन्त्रणका सामग्री खरिद गर्ने जस्ता पूर्वतयारीका कामहरू सुरु गर्नु प्रशंसनीय छ । तर डढेलो रोकथाम केवल सरकारी संयन्त्रको मात्र नभई समुदाय र प्रत्येक नागरिकको साझा जिम्मेवारी हुनुपर्छ ।
डढेलो लाग्नुका पछाडि प्राकृतिकभन्दा मानवीय कारणहरू बढी जिम्मेवार देखिन्छन् । राजमार्ग भएर हिँड्ने यात्रुले चुरोटको ठुटा ननिभाई फाल्नु वा घाँस राम्रो पलाउँछ भन्ने अन्धविश्वासमा वनमा जानाजानी आगो लगाउनु निकै घातक प्रवृत्ति हो । १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको बरण्डाभार क्षेत्रमा पूर्व–पश्चिम र नारायणगढ–मुग्लिन सडक खण्ड पर्ने भएकाले पनि मानवीय लापरवाहीको जोखिम उच्च छ ।
वन डढेलोले केवल रूखबिरुवा मात्र नष्ट गर्दैन, यसले साना–ठूला वन्यजन्तुको बासस्थान विनास गर्छ, माटोको उर्वराशक्ति घटाउँछ भने वायुमण्डलमा अत्यधिक धुवाँ फैलाएर जनस्वास्थ्यमा गम्भीर असर पुर्याउँछ । कतिपय अवस्थामा त हप्तौँसम्म लाग्ने डढेलो बस्तीसम्म पुगेर धनजनको समेत क्षति हुने गरेको छ ।
डढेलो रोकथामका लागि हेरालुको नियुक्ति, वन रक्षकहरूको परिचालन र सचेतनामूलक कार्यक्रमहरू निकै प्रभावकारी हुन सक्छन् । तर डढेलो लागिसकेपछि निभाउनुभन्दा लाग्नै नदिनु उत्तम विकल्प हो । यसका लागि चितवनमा रहेका ९३ सामुदायिक वन, ४०० कबुलियती वन र ७ वटा धार्मिक वनका उपभोक्ताहरूलाई सक्रिय बनाउनु अनिवार्य छ । स्थानीय समुदाय नै वनको पहिलो पहरेदार भएकाले उनीहरूमा डढेलो नियन्त्रणका लागि आवश्यक ज्ञान र उपकरणको सुनिश्चितता हुनुपर्छ ।
अग्निरेखालाई व्यवस्थित राख्ने र सुकेका पात तथा झारहरूको समयमै व्यवस्थापन गर्ने अभ्यासलाई व्यावसायिक बनाउन आवश्यक छ । सरकारी निकायले आधुनिक प्रविधिको प्रयोग गरी डढेलोको पूर्व सूचना प्रणालीलाई अझ सुदृढ बनाउनुपर्छ । आमसञ्चार माध्यमले पनि सूचना प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्छ ।
वन सम्पदा राष्ट्रको साझा सम्पत्ति हो । यसको संरक्षणमा स्थानीय वासिन्दादेखि सडकमा हिँड्ने यात्रुसम्मले आफ्नो कर्तव्य सम्झनुपर्छ । एउटा सलाईको काँटी वा चुरोटको ठुटाले वर्षौँ लगाएर हुर्केको वन र त्यहाँ आश्रित दुर्लभ वन्यजन्तुको विनास गर्न सक्छ भन्ने हेक्का सबैमा हुनुपर्छ । सरकारी सक्रियता, सामुदायिक जिम्मेवारी र व्यक्तिगत सतर्कताको त्रिकोणात्मक समन्वयबाट मात्र हामीले हाम्रा वनजङ्गललाई डढेलोको विनाशकारी ज्वालाबाट जोगाउन सक्छौँ ।
सुक्खायाममा जङ्गललाई आगोबाट बचाउनु भनेको आफ्नै भविष्यलाई सुरक्षित राख्नुका साथै भावी सन्ततीका लागि वन सम्पदाको विकासमा योगदान पुर्याउनु हो ।
चितवनमा भइरहेको डढेलो नियन्त्रणको प्रयास समयमै अगाडि बढेको छ । नेपालको अधिकांश क्षेत्र वनले ढाकेकाले अन्य क्षेत्रमा समेत आजैदेखि डढेलो संकट न्युनीकरणका लागि प्रयास सुरु गरिनुपर्छ । सरकारी, संस्थागत र सामूहिक प्रयासबाट डढेलो न्युनीकरण गर्न सकिन्छ ।
मिति २०८२ फागुन १२ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।































