देशको लोकतान्त्रिक इतिहाससँगै हुर्किएको, हरेक राजनीतिक आन्दोलनमा निर्णायक भूमिका खेलेको र आफूलाई लोकतन्त्रको मूल संवाहक दाबी गर्ने नेपाली कांग्रेस आज फेरि एक महत्वपूर्ण मोडमा उभिएको छ ।
पार्टी विधानले स्पष्ट रूपमा व्यवस्था गरेको विशेष महाधिवेशनको माग सभापति शेरबहादुर देउवापक्षले अस्वीकार गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त्यसलाई अघि बढाउने निर्णय लिनु केवल आन्तरिक शक्ति संघर्ष होइन, कांग्रेसभित्र हराउँदै गएको लोकतान्त्रिक चेतनालाई पुनर्जीवित गर्ने राजनीतिक हस्तक्षेप हो ।
नेपाली कांग्रेसको मूल शक्ति यसको संगठनात्मक लोकतन्त्र हो । बीपी कोइरालाले रोपेको विचार, गणेशमान सिंहले जोगाएको नैतिकता र गिरिजाप्रसाद कोइरालाले अभ्यासमा उतारेको बहस–संवादको परम्परा आज कमजोर बन्दै गएको छ । नेतृत्व सीमित व्यक्तिको वरिपरि केन्द्रित हुँदै जाँदा पार्टी ‘आन्दोलनको संस्था’ भन्दा बढी ‘सत्ता व्यवस्थापनको संयन्त्र’ जस्तो देखिन थालेको यथार्थ कांग्रेस कार्यकर्तामात्र होइन, आम नागरिकले पनि महसुस गरिरहेका छन् । यही सन्दर्भमा महामन्त्रीद्वयको सक्रियता कांग्रेसको आत्मा जोगाउने प्रयत्नका रूपमा बुझिनुपर्छ ।
गगन थापा र विश्वप्रकाश शर्मा दुवै फरक पृष्ठभूमि र शैलीका नेता हुन् । तर उनीहरूलाई जोड्ने साझा सूत्र भनेको पार्टीभित्र संस्थागत सुधार, पुस्तान्तरण र राजनीतिक उत्तरदायित्व हो । विशेष महाधिवेशनको माग कुनै व्यक्तिविशेषविरुद्धको अभियान होइन, पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्ने लोकतान्त्रिक आग्रह हो । विधान मानेर मात्रै कांग्रेसले अरूलाई लोकतन्त्रको पाठ पढाउन सक्छ । यदि आफ्नै घरभित्र विधान लत्याइन्छ भने कांग्रेसको नैतिक धरातल कमजोर हुन्छ ।
सभापति देउवापक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्नु शक्ति सन्तुलनको डर वा यथास्थितिमा सहजता खोज्ने मानसिकताको उपज हुन सक्छ । तर राजनीतिक दलहरू यथास्थितिबाट होइन, समयको मागअनुसार आफैंलाई परिमार्जन गर्न सक्ने क्षमताबाट जिवित रहन्छन् । कांग्रेसले पछिल्ला निर्वाचनहरूमा भोगेको जनआधारको क्षय, कार्यकर्तामा बढ्दो निराशा र सरकारमा रहँदा देखिएको असमर्थता आत्मसमीक्षाको माग हो । विशेष महाधिवेशन यही आत्मसमीक्षाको औपचारिक माध्यम बन्न सक्छ ।
महामन्त्रीद्वयको सक्रियताले कांग्रेसभित्र दबिएको बहसलाई सतहमा ल्याएको छ । यसले पार्टीलाई कमजोर बनाउँछ भन्ने तर्क सतही हो । वास्तवमा बहस नहुने, प्रश्न नउठ्ने र नेतृत्व चुनौतीरहित रहने पार्टी नै कमजोर हुन्छ । गगन–विश्वप्रकाशले उठाएको विषयले कांग्रेसलाई फेरि ‘विचार गर्ने पार्टी’ बनाउने सम्भावना देखाएको छ । युवापुस्ताले खोजिरहेको स्पष्टता, पारदर्शिता र जवाफदेहिताको संकेत यही हो ।
अझ महत्वपूर्ण कुरा, महामन्त्रीहरू स्वयं सत्ता र पदको सुविधामा रमाएर मौन बस्न सक्थे । तर उनीहरूले जोखिम मोलेर विधान र लोकतान्त्रिक अभ्यासको पक्ष लिएका छन् । यो साहस नेपाली राजनीतिमा दुर्लभ हुँदै गएको छ । सत्ता समीकरण, गठबन्धन र पद बाँडफाँडमै सीमित राजनीतिक संस्कारबीच यस्तो हस्तक्षेपले नयाँ आशा जन्माएको छ । निश्चय नै, यो पहल सहज छैन । पार्टीभित्र शक्ति सन्तुलन, गुट–उपगुट र पुरानो नेतृत्व संरचनाले अवरोध खडा गर्नेछन् । तर लोकतन्त्र सधैं सहज बाटोबाट अघि बढ्दैन । गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक गतिशीलता व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि उठेर संस्थागत सुधारतर्फ लक्षित देखिनु यसको सबैभन्दा सकारात्मक पक्ष हो ।
नेपाली कांग्रेस आज इतिहास र भविष्यको दोबाटोमा छ । या त उसले यथास्थितिलाई अँगालेर क्रमशः जनविश्वास गुमाउने बाटो रोज्नेछ, या त आफ्नै विधान, आफ्नै परम्परा र आफ्नै लोकतान्त्रिक मूल्यतर्फ फर्किनेछ । महामन्त्रीद्वयको सक्रियताले दोस्रो बाटो खुला गरिदिएको छ । अब कांग्रेसले यो अवसरलाई गुमाउँछ कि उपयोग गर्छ, त्यसले मात्र पार्टीको भविष्य होइन, देशको लोकतान्त्रिक अभ्यासको दिशासमेत निर्धारण गर्नेछ ।
मिति २०८२ पुस २७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



































