पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशमा मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याहरूको समाधान नगरी निर्वाचनमा जानुको सार्थकतामाथि प्रश्न उठाएका छन् । निर्वाचन आफैँमा प्रजातन्त्रको सुन्दर पक्ष भए पनि अहिलेको परिस्थिति अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको उनको ठहर छ ।
जनतामा बढ्दो निराशा र देशको अस्तित्व नै संकटमा परेको अनुभूति भइरहेका बेला गरिने निर्वाचनले कतै फेरि खिचातानी र द्वन्द्व मात्रै त निम्त्याउने होइन भन्ने उनको आशंकाले आम जनभावनालाई कतै न कतै छोएको छ । गणतन्त्र स्थापनापछिका यी १७ वर्षहरूमा नेपाली राजनीति आलोपालो भाग लगाएर खाने प्रवृत्तिबाट मुक्त हुन सकेन । अधिकार खोज्ने तर कर्तव्य बिर्सिने परिपाटीले गर्दा सुशासन र विकास केवल नारामा मात्र सीमित हुन पुगेका छन् ।
पूर्वराजाले औँल्याए जस्तै देश कसैलाई खुसी पार्न वा बाह्य शक्तिबाट निर्देशित हुन बाध्य हुने अवस्थामा पुग्नु राष्ट्रिय स्वाभिमानका लागि चिन्ताको विषय हो । राजनीतिक दलहरूले मिलेर काम गर्नेभन्दा पनि सत्ताको लुछाचुँडीमा समय खर्चिँदा देशले अपेक्षित गति लिन सकेन, जसको परिणामस्वरूप आज जनस्तरमा परिवर्तनको नाममा भएका गतिविधिप्रति नै वितृष्णा पैदा हुन थालेको छ ।
अहिलेको मुख्य समस्या भनेको विपन्नता र अस्थिरता नै हो । आपसी घृणा, द्वन्द्व र विभाजनको राजनीतिले राष्ट्रिय अस्मितालाई नै कमजोर बनाउँदै लगेको छ । पूर्वराजाले राष्ट्रिय सहमति र साझा समझदारी बनाएर मात्र निर्वाचन प्रक्रियामा जान दिएको सुझावलाई केवल एउटा पक्षको अभिव्यक्तिका रूपमा मात्र नहेरी यसलाई वर्तमान संकटको निकास खोज्ने एउटा अवसरको रूपमा लिनु आवश्यक देखिन्छ । सबै विचार, संस्कार र मूल्यहरूलाई सम्मान गर्ने समन्वयकारी संस्कृतिले मात्र लोकतन्त्रलाई दिगो बनाउन सक्छ ।
विगतमा राजा र जनताको संयुक्त प्रयासबाट प्रजातन्त्र स्थापना भएको ऐतिहासिक तथ्यलाई स्मरण गर्दै उनले अहिले पनि जनतालाई सचेत र जागरुक हुन आह्वान गरेका छन् । झापादेखि काठमाडौँसम्म उनले पाएको जनसमर्थन र नागरिक सद्भावले देशभित्र एउटा पक्ष राजसंस्थाप्रति आकर्षित भइरहेको देखाउँछ । यस्तो अवस्थामा राज्य व्यवस्था सञ्चालन गर्नेहरूले आत्मसमीक्षा गर्नैपर्छ, के साँच्चै राजनीतिक परिवर्तनले नेपालीको जीवनमा तात्विक परिवर्तन ल्यायो त ?
नेपालको भू–बनोट र सामाजिक यथार्थ अनुसारको शासन प्रणाली हुनुपर्ने र अरूको भर परेर नभई आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनको तर्कले स्वदेशी प्रजातन्त्रको आवश्यकतालाई जोड दिएको छ । विश्वका धेरै राष्ट्रले आफ्ना नागरिक र राष्ट्रिय आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर लोकतन्त्रको अभ्यास गरिरहेका छन्, तर नेपालमा प्रायः बाह्य प्रभाव र आयातित एजेन्डाले स्थान पाउने गरेको तीतो सत्य कसैबाट छिपेको छैन ।
निर्वाचनअघि राष्ट्रिय सहमति र सबैलाई समेट्ने साझा समझदारीको खोजी गर्नु मेलमिलाप र स्थिरताको सन्देश हो । यदि विद्यमान समस्याहरूलाई ज्यूँकात्यूँ राखेर गरिने निर्वाचनले पुनः अस्थिरता र द्वन्द्व मात्रै निम्त्याउने खतरा रहन्छ । पूर्वराजाको सन्देशले राजनीतिक दलहरूलाई आफ्नो कार्यशैली सुधार्न र देशको अस्तित्व रक्षाका लागि गम्भीर बन्न घच्घच्याएको छ । सद्भाव र एकताको संस्कृति विकास गरी आत्मनिर्भर नेपाल निर्माणमा लाग्नु नै आजको उत्तम मार्ग हो ।
मिति २०८२ फागुन ८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



























